कञ्चनपुर– कञ्चनपुरमा यातायात व्यवसायीहरु आन्दोलित भएका छन । बस चालक मुकेश राज अवस्थीमाथि अन्याय हुने गरी एक न्यायाधीशले झुटा मुद्दा चलाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । यातायात व्यवसायीहरुले यातायातका साधनहरु ठप्प पारेका छन् । महेन्द्रनगरबाट पूर्वपश्चिम राजमार्ग भएर चल्ने यातायातका साधनहरू उनिहरुले चल्न दिएका छैनन् ।
जिल्ला अदालत पर्सामा कार्यरत बझाङका न्यायाधीश कमलकान्त जोशीले अनुचित रकम माग्न खोजेको र यातायात मजदुरलाई झुटा मुद्दा लगाएर फसाउन खोजिएको भन्दै उनीहरूले शुक्रबार बिहानदेखि कञ्चनपुरमा यातायातका साधन ठप्प पारेका छन् ।
यातायात मजदुर संघ, स्वतन्त्र यातायात मजदुर संघ र अखिल नेपाल ट्रेड युनियन महासङ्घ कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै गत माघ १९ गते सु।प्र।०२००१ ज ४४७ नम्बरको बसले प्रदेश ३०२०१२ प ९४०२ नम्बरको मोटरसाइकललाई कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीमा ठक्कर दिँदा मोटरसाइकल चालक सनत रेग्मी र पछाडि सवार जोशी सामान्य घाइते भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनीहरू निशर्ग अस्पताल धनगढीमा उपचारपछि घर फर्किएका थिए । तर त्यसको केही दिनपछि न्यायाधीश जोशीले यातायात मजदुरमाथि दबाब दिँदै मोटो रकम मागेको गुनासो यातायात मजदुर संघले गरेका छन् । उपचार खर्च व्यहोरेका उनीहरूले उक्त रकम दिन नसकेपछि इलाका प्रहरी झलारीमा झुटा मुद्दा दर्ता गरी फसाउन खोजेको आरोप मजदुर संघको छ ।
यातायात मजदुर सङ्गठनहरूका अनुसार उपचारपछि डिस्चार्ज भइसकेका जोशीले पदको दुरुपयोग गरी इलाका प्रहरी कार्यालय झलारीमा अङ्गभङ्गको मुद्दा दर्ता गराएका छन् । प्रहरी प्रशासनले कुनै छानबिन नगरी मुद्दा अघि बढाएको र चालक अवस्थीलाई दुई महिनादेखि बिना कारण अनावश्यक हिरासतमा राखिएको आरोप मजदुर सङ्गठनहरूले लगाएका छन् । विज्ञप्तिमा अदालतमार्फत उनलाई कारागार चलान गराउन खोजिएको भन्दै कडा आपत्ति जनाइएको छ । सङ्गठनहरूले चालक अवस्थीलाई अन्यायपूर्वक थुनामा राखेर मानसिक यातना दिइएको आरोप लगाउँदै उनको अविलम्ब रिहाइको माग गरेका छन् ।
माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिँदै यातायात मजदुरहरुले शुक्रबारदेखि सम्पूर्ण यातायात सेवा बन्द गर्ने घोषणा गरेका छन् । संयुक्त विज्ञप्तिमा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल ट्रेड युनियन महासंघ, समन्वय समिति, कञ्चनपुरले हस्ताक्षर गरेका छन् । यातायात मजदुरमाथि अन्याय भएको भन्दै यातायातका साधनहरू ठप्प पारेपछि यात्रुहरू गन्तव्यमा पुग्न नपाउँदा अलपत्र परेका छन् ।