बैतडी: बैतडीको पुर्चौडी नगरपालिका–३ देउलाडमा एक घरमा आगलागी भएको छ । बुधबार राति स्थानीय वीरेन्द्र बोहराको एकतले कच्ची घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार खरबारीमा लागेको आगो घरसम्म पुग्दा आगलागी भएको बुझिएको छ । आगलागीका कारण बोहराको घरमा भएका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेले क्षतिको एकीन विवरण आउन बाँकी रहेको बताए । स्थानीयवासीको सहयोगमा गएराति नै आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यसैबिच कैलालीको धनगढीमा एक जनाको घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षति भएको छ । धनगढी उपमहानगरपालिका–१७ धुरजना बस्ने रामकिसन डगौराको छोरा सुरेश चौधरीको घरमा बुधवार दिउँसो आगलागी भएको हो । गहुँ थे्रसर लगाउने क्रममा अचानक आगलागी भएको सुरेश चौधरीले बताएका छन् । उक्त्त आगलागीबाट चौधरीको ७ वटा बाख्रा जल्नुका साथै, घर भित्र रहेका सबै सरसमानहरू जलेर ५ लाख बराबरको क्षति भएको जनाइएको छ ।