कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका(३ बडुवाल टोलनजिकै दशगजामा मृत भेटिएको हात्तीको अन्तिम संस्कार गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मधयवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको टोलीले अन्तिम संस्कार गरेको हो । मृत भाले हात्तीको निकुञ्जका पशु चिकित्सक डा। आभाश श्रेष्ठले पोस्टमार्टम गरेपछि अन्तिम संस्कार गरिएको हो । पोस्टमार्टममा करेन्ट लागेकै आशंका गरिएको छ । ‘रिपोर्ट तयार भइसकेको छैन, करेन्टकै कारण मृत्यु भएको जस्तो छ,’ उनले भने ।
हात्तीको सुँडमा घाउ देखिएको थियो । नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा भेटिएको उक्त हात्ती भारतकै वनबाट आएको हुन सक्ने अनुमान गरिएको छ । एक महिना अघि लालझाडी गाउँपालिकामा पनि करेन्टकै कारण वयस्क हात्तीको मृत्यु भएको थियो । हात्तीलाई करेन्ट लगाउने व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।