काठमाडौँ — बिहान चन्द्रागिरिस्थित घरबाट रिपोर्टिङमा निस्कँदै गर्दा पत्रकार सुरेश रजक (३४ वर्ष) को घरमा भोजको तयारी थियो । उनले माइलो दाजु दिनेशलाई भनेका थिए, ‘आज म चाँडो आउँछु । तँ पनि चाँडो आउनू ।’ तीन भाइमध्ये सुरेश र दिनेश तीन महिनादेखि नयाँ घर चन्द्रागिरिमा बस्दै आएका थिए । दिनेश र सुरेश दुवै पत्रकारिता गर्थे । त्यो दिन जेठो दाइ र आफन्तलाई उनीहरूले भोजमा डाकेर दुवै राजावादीहरूले गरेको प्रदर्शनको रिपोर्टिङमा निस्किए । घरमा आफन्तहरूको उपस्थितिले रमझम बढिरहेको थियो । ‘चाँडो आउँछु भनेर निस्केको थियो भाइ, अब कहिल्यै नफर्किने भयो,’ दाजु दिनेश भक्कानिँदै भन्छन् ।
शुक्रबार राजावादीहरूले काठमाडौंको तीनकुनेमा केन्द्रित गरेको प्रदर्शनमा उनीहरूले एक भवनमा आगजनी गरे । एभिन्युज टेलिभिजनका भिडियो जर्नालिस्ट सुरेश त्यही दृश्य खिचिरहेका थिए । आगोमा परी उनले ज्यान गुमाए । सुरेश पत्रकारितामा आउनुअघि वैदेशिक रोजगारीका क्रममा मलेसियामा थिए । ‘भाइ उतै हुँदा आमा बित्नुभयो अनि ऊ फर्किएर नेपाल आयो । त्यसपछि विदेश नगई पत्रकारिता सुरु गर्यो,’ दिनेश भन्छन् ।
आफन्तलाई भोजको निम्तो गरेर सुरेश रिपोर्टिङ गर्न तीनकुने पुगेका थिए, घरमा रमझम चलिरहेका बेला आगजनीमा परे शुक्रबार १० बजे सहकर्मी अनिल रायमाझीसहित सुरेश रिपोर्टिङका लागि एभिन्युजको कार्यालयबाट निस्किएका थिए । ‘हामीले खाना बाहिर खायौं । तीनकुनेको एउटा कलेजमा बाइक पार्किङ गरेर फिल्डमा गएका थियौं,’ अनिल भन्छन् । उनका अनुसार सुरेश र अनिल त्यहाँ पुग्दा राजावादी प्रदर्शनकारी भर्खर भेला हुँदै थिए । ३० मिनेटजति रिपोर्टिङ गरेर उनीहरू साथीहरूसँग चिया पिउन नजिकैको गल्लीभित्र गए । प्रदर्शनकारीले प्रदर्शन गरिरहेका बेला प्रहरीले अश्रुग्यास फाल्यो भन्ने खबर पाए । ‘गल्लीबाट निस्कँदै प्रदर्शनकारीले माथिबाट प्रहरीले अश्रुग्यास फाल्यो भनेर ढुंगामुढा गर्ने प्रयत्न गर्दै थिए । सडकमा निस्किएपछि हामीलाई अश्रुग्यासले उकुसमुकुस बनायो । दाइले प्रहरीको समूहमा छिर्छु भनेर मलाई क्यामेरा थमाइदिनुभयो । अनि अगाडि जानुभयो । दाइले मोबाइलबाट लाइभ गर्नुभयो,’ अनिल सुनाउँछन्, ‘केहीबेरपछि फेरि दाइ र म पहिल्यैको चिया पसलमा भेट्यौं ।’
त्यहीबेला गल्लीबाट एक्कासि प्रदर्शनकारीले भवनतिर आक्रमण गर्न थालेको भेउ पाए उनीहरूले । उनीहरू भवनको अगाडिपट्टि दृश्य खिच्दै पुगे । अचानक भीड बढ्यो र उत्तेजित भयो । भवन प्रवेश गर्ने सटरको चाबी तोडेर प्रदर्शनकारी भित्र छिर्न थाले । ‘त्यसपछि दाइ बुम मलाई थमाइदिएर स्वाट्टै छिर्नुभयो । मैले केही भन्नै पाइनँ । दाइ दोस्रो तलामा बसेर खिच्नुभएको हेरिरहेको थिएँ । ढुंगामुढा चलिरहेको थियो । त्यहीबेला प्रदर्शनकारीले आगो लगाउनुपर्छ भनिरहेका थिए,’ अनिल भन्छन्, ‘सामान माथिबाट झारिरहेका थिए । फेरि अश्रुग्यास प्रहार गरियो । म पनि एकतिर भएँ । प्रदर्शनकारी तितरवितर भए ।’
प्रदर्शनकारीले आगो बाल्न लागेको अनिलले देखे । त्यतिबेला सुरेश तेस्रो तलामा रहेर दृश्य कैद गरिरहेको देखेपछि उनले इसारा गरे, तर सुरेशले देखेनन् । फोन गरे, उठाएनन् । ‘त्यसपछि एमसीआरमा फोन गरें । हल्लाखल्ला मच्चियो । माथि गएका मान्छे झर्न थाले । दाइ आउनुहुन्छ होला भनेर हेरें तर आउनुभएन । सम्पर्क नै हुन सकेन,’ अनिल भन्छन् । अनिल आत्तिएर ढुंगामुढाको सामना गर्दै प्रहरीसमक्ष पुगे । तर प्रहरीहरूले आफ्नो गुहार नसुनेको अनिलको गुनासो छ । १० मिनेटपछि दमकल त आयो तर प्रदर्शनकारीको ढुंगा प्रहारबाट दमकलको सिसा फुट्यो । आगो निभाउन सकेन । ‘त्यसपछि प्रहरीलाई गुहार मागें । फेरि पनि गुहार सुनेनन् । दमकल बोलाउन लगाउँदा उनीहरूले ढुंगामुढा हुन्छ भन्दै टारे,’ अनिल भन्छन्, ‘मान्छे भित्र हराइरहेको छ तर प्रहरी प्रशासनको त्यस्तो जवाफ आयो । मैले घुँडा टेकेर प्रदर्शनकारी र प्रहरीलाई ढोग्न थालें ।’
पछि दमकल आएर आगो निभायो । सशस्त्र प्रहरीका तीन प्रहरी भित्र गए । उनीहरूले मान्छे क्षति नभएको भन्दै ढुक्क हुनु भने । ‘त्यसपछि दाइलाई अस्पताललगायत विभिन्न ठाउँमा खोज्यौं, भेटेनौं । फेरि आगो बल्न थाल्यो भवनमा । पछि आगो निभाएर माथि जाँदा दाइको जलेको शव थियो,’ उनी सुनाउँछन् । सुरेशका दाइ दिनेशले रिपोर्टिङका क्रममा भाइ भवनभित्र फसेको पछि थाहा पाए । ‘उसलाई नियोजित रूपमा मारे । बचाउन सकिन्थ्यो । तर प्रहरीको लापरबाहीले ज्यान गुमायो,’ दिनेश भन्छन् । सुरेशको परिवारले उनलाई सहिद घोषणा गर्न, सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गरेको छ ।
सुरेशका सहकर्मी र पूर्वसहकर्मीका अनुसार उनी निडर र इमानदार थिए । सुरेशले माउन्टेन टेलिभिजनबाट ७ वर्षअघि पत्रकारिता सुरु गरेका थिए । ‘त्यतिबेला सुरुमा उहाँलाई तालिम हामीले नै दिएका थियौं,’ माउन्टेन टेलिभिजनमा सँगै काम गरेका सुरेशका पूर्वसहकर्मी डीबी मगर भन्छन्, ‘त्यतिबेलादेखि नै उहाँ आँटिलो हुनुहुन्थ्यो । जोखिम मोलेर काम गर्न रुचाउनुहुन्थ्यो ।’ डीबीका अनुसार एमसीसीविरुद्ध भएको आन्दोलनका बेला रिपोर्टिङ गर्दा पनि सुरेश घाइते भएका थिए । केही महिना माउन्टेनमा काम गरेर उनी एभिन्युज टेलिभिजन गएका थिए ।
दाइ दिनेशका अनुसार उनी आफ्नो काममा सधैं इमानदार र दत्तचित्त रहन्थे । ‘ऊ अफिस समयभन्दा जहिल्यै अगाडि पुग्थ्यो । काममा कहिल्यै बिदा लिएर बसेको थाहा छैन । उसलाई जोखिम मोलेर काम गर्न साह्रै इच्छा लाग्थ्यो,’ दिनेश भन्छन् । सुरेशले ८ वर्षअघि बिहे गरेका थिए । भाइ गुमाएपछि आहत भइरहेका दिनेश आफू र परिवारलाई कसरी सम्हाल्ने भन्ने चिन्तामा छन् । भक्कानिँदै भन्छन्, ‘यस्तो बेलामा कसरी मन बुझाऊँ ?’
।।।
कीर्तिपुर–४ गाम्चाका २९ वर्षीय सविन महर्जन काठमाडौं–हेटौंडा रुटमा सुमो गाडी चलाउँथे । शुक्रबार बिहान १० बजेतिर उनी बल्खुमा गाडी बनाउन भनेर घरबाट बाइकमा निस्किएका थिए । पत्नी भविषाले दिउँसो २ बजे सविनलाई फोन गरिन् तर उठेन । फेरि साढे ४ बजेपछि फोन गरिन्, फोन उठ्यो तर त्यतिबेला उनको होस उड्यो । ‘फोन पुलिसले उठायो,’ भविषाले सुनाइन्, ‘तपाईंको मानिस सिरियस छ, भेट्न आउनू भन्यो ।’ प्रहरीले बोलाएको त्रिवि शिक्षण अस्पतालमा भविषा पुग्दा सविनको मृत्यु घोषणा भइसकेको थियो । तीनकुनेमा राजावादीको प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली सविनलाई लागेको भविषाले त्यहीँ थाहा पाइन् । घरबाट गाडी बनाउन निस्केका पति कसरी तीनकुने पुगे भन्ने उनलाई पत्तो छैन । सविनका काका किरणले पनि उनी आन्दोलनमा कसरी गए भन्ने थाहा नभएको बताए ।
प्रहरीका अनुसार तीनकुने र कोटेश्वरको बीचमा सविनलाई गोली लागेको थियो । प्रर्दशनकारीले कोटेश्वर क्षेत्रमा रहेका प्रहरी इकाइ कार्यालयहरूमा एकसाथ ढुंगामुढा र आगजनी गरिएपछि आत्मरक्षाका लागि गोली चलाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता उपरीक्षक अपिलराज बोहराको भनाइ छ । ‘कम संख्यामा रहेका सुरक्षाकर्मीलाई ज्यान जोगाउनै मुस्किल परेको थियो । आफ्नो रक्षाका लागि गोली चलाउँदा सविनलाई गोली लाग्यो,’ उनले भने । सविनको दाहिने छातीमा गोली लागेको थियो । १० वर्षदेखि गाडी चलाउँदै आएका कीर्तिपुरका सविन महर्जन यसअघि राजनीतिक कार्यक्रममा सहभागी हुने गरेका थिएनन्
सविन सानैदेखि ड्राइभर बन्न चाहन्थे । कक्षा ८ पुगेपछि उनले पढाइ छाडेर पानीट्यांकर चलाउन थालेका थिए । उनी ड्राइभर भएको १० वर्ष नाघिसकेको थियो । चिनजान भएको एक वर्षमै भविषासँग उनको बिहे भएको थियो । २८ वर्षीया पत्नी भविषा र ८ वर्षीया छोरी सुविषासहितको तीन सदस्यीय सुखी परिवार थियो । शुक्रबारको घटनापछि परिवारको मूल खम्बा नै उखेलिएको छ । ‘उहाँ घुम्न र नयाँ कुरा गर्न मन पराउने मान्छे हो । के गर्नु, सपना मात्र देखाएर जानुभयो,’ भक्कानिँदै भविषाले भनिन् । पति गुमाएकी भविषालाई सम्हाल्न माइतबाट बुवा र बहिनी आएका छन् ।
सविनको खबर सुन्नासाथ ७५ वर्षीया हजुरआमालाई स्वास्थ्य समस्या भयो । उनी मुटुरोगी हुन् । उनलाई शुक्रबार नै कीर्तिपुरको काठमाडौं मोडेल अस्पतालमा भर्ना गरिएको छ । सविनकी काकी रीताले भनिन्, ‘उहाँलाई गाह्रो भयो, गंगालाल लान खोजेका थियौं । एम्बुलेन्स पनि जलाइदिन्छन् भन्ने सुन्यौं, डरले कीर्तिपुरमै भर्ना गर्यौं ।’ गाम्चामा ११ जनाको चार परिवार एउटै छानामुनि बस्छन् । भान्सा भने छुट्टाछुट्टै छ । सविनको परिवारमा भने कमाउने मान्छे उनी मात्रै हुन् । उनी कुनै राजनीतिक कार्यक्रममा सहभागी हुने गरेका थिएनन् । कीर्तिपुर–४ का वडाध्यक्ष राजेन्द्र बानियाँ पनि सविन र उनको परिवारको यसअघि राजनीतिक संलग्नता नदेखिएको बताउँछन् । ‘नहुने घटना भइगयो,’ उनले भने, ‘परिवारका लागि केही गर्न सकिन्छ कि भनेर आइतबार बैठक बस्दै छौं ।’
सविनको शव महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमै छ । परिवार र आफन्तले सविनको मृत्युको जिम्मा राज्यले नलिएसम्म शव नबुझ्ने अडान राखेका छन् । ‘सरकारले चलाएको गोलीले ज्यान गयो, अब हाम्रो बाटो पनि सरकारले नै खोजिदिनुपर्यो,’ भविषाले भनिन् ।