बैतडी: कुनै बेला सामाजिक न्याय, अन्याय छुट्याउने थलोका रूपमा रहेको बैतडीको कुल्लेककोट दरबारको भग्नावशेष उत्खनन गरी संरक्षण पार्क बन्ने भएको छ । कोटको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय बैतडीमा कुल्लेककोट सांस्कृतिक समाज दर्तासमेत भएको छ । दशरथ चन्द नगरपालिका–४, देवलहाट नजिकैको अग्लो डाँडामा रहेको कुल्लेककोट दरबार १२ औँ शताब्दीअघि निर्माण भएको भनाइ छ । यो कोटमा विसं। १६३० देखि १६५० सम्म रुद्रवीर शाहले राज्य गरेको स्थानीयको भनाइ छ ।
रुद्रवीर यहाँको २० औँ राजाका रूपमा रहेका थिए । त्यसपछि यहाँ रानादेवले बैतडी गर्खाको न्याय, अन्याय छुट्याउने गरी शासन गरेका थिए । रानादेवको निधनपछि गर्गदेवले कोटको परम्परालाई निरन्तरता दिएका थिए । हालः यो कोट भत्केर भग्नावशेषमा परिणत भएको छ । कोटमा विभिन्न मूर्ति र शिलालेख रहेका छन् । कुल्लेककोट नजिकै पञ्चदेवल रहेको छ ।