धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरासिंह सार्कीले आगामी बजेटमा प्रदेश सरकारले विपत्लाई प्राथमिकता दिने बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वय एवम् मर्सिकोर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको आयोजनामा आज धनगढीमा भएको विपत्सम्बन्धी कार्यक्रममा उनले यस्तो बताए । मन्त्री सार्कीले विभिन्न दातृ निकायसँग समन्वय गरेर विपत् व्यवस्थापनका लागि बढी बजेट छुट्टयाउने उल्लेख गरे ।
मन्त्री सार्कीले पूर्व सूचना प्रणालीलाई अझ व्यवस्थित गर्नुका साथै सरकारले समुदायलाई सचेत पार्ने कार्य गर्ने बताए । विगतमा भएको क्षतिलाई आङ्कलन गरेर अझै बढी तयार हुन आवश्यक रहेको उनको तर्क छ ।
विपत् जोखिम न्यूनीकरणको हकमा प्रदेश सरकारले धेरै अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको मन्त्री सार्कीको भनाइ थियो । उनले सङ्घसंस्थाहरूले विपत्को सवालमा अध्ययन गरेर प्रदेश सरकारलाई घचघच्याउने काम गरेको उल्लेख गरे ।
प्रदेश सरकारबाट भएको कमिकमजोरी सुधार गर्न आवश्यक रहेको मन्त्री सार्कीले बताउनुभयो । उहाँले पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख गरे ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव आमोद दाहालले विपत् व्यवस्थापनको हिसाबले अध्ययन र बजेट बढाउन जरुरी रहेको बताए । यस्तै, नेपाल राष्ट्रिय समाज कल्याण सङ्घका निर्देशक अशोकविक्रम जैरुले हरेक व्यक्ति, परिवार, पालिका विपत् उत्थानशील हुन जरुरी भइसकेको उल्लेख गरे । उनले विपत् सम्बन्धी अध्ययनले प्रदेश सरकारलाई त्यस क्षेत्रमा बजेट विनियोजन गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा यो प्रदेशमा जलवायु अनुकूलन र विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धित बजेट विश्लेषण अध्ययनबाट प्राप्त नतिजा सार्वजनिक गरिएको थियो ।