धनगढी । १९ चैतमा कैलालीको धनगढीमा हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी (पुरुष) को मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार वर्ष खेलाडी पुरुषको मनोनयनमा खोखोका हेमराज पनेरु, करातेका मोहमद शेखु आलम र भलिबलका अर्जुन नेपाली परेका छन् ।
खोखोका पनेरु प्रथम खोखो विश्वकपको पुरुषतर्फ नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । उनकै कप्तानीमा नेपालले चौँथो एशियाली खोखो च्याम्पिएनसिप, नेपाल–भारत खोखो टेस्ट म्याच र प्रथम खोखो विश्वकप गरी तीन वटा प्रतियोगितामा लगातार रजत पदक जितेको छ । भलिबलका नेपाली श्रीलंकामा भएको काभा यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउने कप्तान हुन् । सहाना प्रधान भलिबल प्रतियोगितामा सुदूरपश्चिमलाई तेस्रो बनाउन उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी प्रतियोगिताकै उत्कृष्ट ब्लकर बन्न सफल भएका थिए । करातेका आलम भुटानमा भएको आठौँ दक्षिण एसियाली कराँते प्रतियोगितामा नेपाललाई एक स्वर्ण र एक रजत पदक जिताउने खेलाडी हुन् । उनले १६औं एसिया प्याफिसिक सितुरियो कराँते च्याम्पीयनसीपमा नेपाललाई कास्य पदक जिताएका थिए ।
आयोजक खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकका अनुसार मञ्चले आठ विधामा अवार्ड प्रदान गर्नेछ । यसअघि नै वर्ष खेलाडी महिला, सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष खेलाडी महिलाको मनोनयनमा खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा परेका छन् । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेताको नाम भने अवार्डकै दिन घोषणा गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
धनगढी रंगशालामा हुने अवार्डमा विभिन्न सांगितिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । गायक दुर्गेश थापाको पनि प्रस्तुति रहने मञ्चले जनाएको छ । सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएको मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका, पुनरवास नगरपालिका, परशुराम नगरपालिका, कृष्णपुर नगरपालिका, कैलारी गाउँपालिका तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल, बिवाइडी मोटर, ठाकुर एग्रो इन्ड्रष्टिज र हिमालयन गौरीशंकर डेन्टलले पनि प्रायोजकका रुपमा साथ दिएका छन् । यस्तै फुड पार्टनरका रुपमा पोटली फुड्स, इन्टरनेट पार्टनरका रुपमा भायानेट र हस्पिटालिटी पार्टनरको रुपमा होटेल डिभोटी जोडिएको छ ।
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डः वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु