धनगढी: सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नै नेतृत्वको सरकारले प्रदेशको स्थाई राजधानी निर्माण कार्य अगाडी बढाउने दावी गरेका छन् । एक अन्तवार्तामा बोल्दै शाहले प्रदेशका नागरिकको सपना पुरा गर्न सरकार तयार रहेको बताएका थिए । मेरो नेतृत्वमा सरकार रहँदा नै काम सुरु हुन्छ शाहले भने “मेरो विचारमा अब केही महिनाभित्रै राजधानी निर्माणको काम अघि बढ्नेछ, हामी अब कुनै ढिलाइ नगरी कामलाई अगाडि बढाउने छौँ, प्रदेशका नागरिकहरूको चाँडो स्थायी राजधानीको सपना पूरा गर्न हामी प्रतिबद्ध छौँ, संघीय सरकारबाट आवश्यक स्वीकृति नआउँदा प्रक्रिया रोकिएको छ । प्रदेश सरकारले निरन्तर प्रयास गरिरहेको छ र हाम्रो नेतृत्वमा राजधानी निर्माणको कार्य चाँडै अघि बढ्नेछ भन्ने म विश्वास दिलाउन चाहन्छु ।”
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा रहने भनेर प्रदेश सभाको अघिल्लो कार्यकालले नै टुङ्गो लगाइसकेको छ । तर अहिलेसम्म राजधानीका लागि आवश्यक संरचना बनाउन सकिएको छैन । यसमा मुख्य अवरोध भनेको संघीय सरकारबाट आवश्यक स्वीकृति प्राप्त नहुनु हो शाहले भने “हामीले पटक–पटक संघीय सरकारलाई यस विषयमा पत्राचार गरेका छौँ । यसबारे संघीय सरकारसँग छलफल पनि गर्दै आएका छौँ । तर अहिलेसम्म संघीय सरकारबाट ठोस निर्णय आएको छैन । संविधान अनुसार राजधानीका लागि संरचना निर्माण गर्न संघीय सरकारबाट अनुमति लिनुपर्छ । यस प्रक्रियामा भूमि प्राप्ति र वन क्षेत्रको व्यवस्थापनका मुद्दाहरू पनि आएका छन् । यी सबै विषयहरूमा संघीय सरकारको सहकार्य र अनुमतिविना हामी एक्लै आफूखुसी अगाडि बढ्न सक्दैनौँ ।”
संघीय सरकारसँग समन्वयमा समस्या परेको छैन, तर राजधानी निर्माणका लागि आवश्यक स्वीकृति र अनुमतिहरू प्राप्त गर्नमा ढिलाइ भएको छ । उनले भने “हामीले संघीय सरकारसँग समन्वय गर्दैछौँ र यस विषयमा हामीले पत्राचार र अन्य संवादहरू पनि गरेका छौँ । संघीय सरकारको अनुमति प्राप्त नगरी हामीले यस कामलाई अगाडि बढाउन सक्दैनौँ । हामी अझै सहयोग र समन्वयका लागि प्रयास गरिरहेका छौँ । आशा छ, चाँडै नै संघीय सरकारले यस विषयमा निर्णय गर्नेछ ।”
मुखयमन्त्री शाहले सुदुरपश्चिमको राजधानी सम्बन्धी बिषय प्रदेशसभामा ब्यापक उठ्ने बताए । राजधानी निर्माणका लागि अब चाँडै निर्णय लिनुपर्ने अवस्था रहेको बताउँदै उनले प्रदेशवासीले स्थायी राजधानीको काम अघि बढिरहेको छिटै देख्न पाउने दावी गरे ।
सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी तोकिएको साढे ६ वर्ष पुगिसके पनि भौतिक संरचना निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । संघीय सरकारबाट जग्गा हस्तान्तरण नहुनु, कानुनी र प्रशासनिक जटिलताका साथै बजेट व्यवस्थापनको अन्योलले गर्दा राजधानीमा संरचना निर्माणको काम अघि बढ्न सकेको छैन । सुदूरपश्चिम प्रदेशका नागरिक लामो समयदेखि स्थायी राजधानीको पर्खाइमा छन् । राजधानीका लागि आवश्यक संरचना निर्माणको काम नै सुरु नहुँदा विभिन्न आशंका पनि उब्जिन थालेका छन् ।