धनगढी । भूमि समस्या समाधान आयोगले स्थानीय तहमा कर्मचारी खटाउने तयारी गरेको छ । आयोगले स्थानीय तहहरूका कर्मचारीसँग मिलेर जग्गा नापजाँचको काम गर्न प्राविधिक कर्मचारी खटाउन लागेको हो । जसका लागि कैलालीमा संघबाट ३० जना कर्मचारीहरू आएका छन । २० जना अमिन र १२ जना सर्वेक्षक रहेका छन । उनीहरुलाई आयोगले करारमा नियुक्त गरेको थियो ।
कैलालीका १३ स्थानीय तहहरूमा उनीहरूलाई आवश्यकताको आधारमा कर्र्मचारी पठाइने भूमि समस्या समाधान आयोग कैलालीका सदस्य सचिव जनक भट्टले बताए । कैलालीमा ७० प्रतिशत जग्गाको नापजाँचको काम पूरा भएको आयोगको दाबी छ ।
कैलालीमा ठूलो सङ्ख्यामा भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासी छन् । कैलालीमा एक लाख ३० हजार बढी भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा प्राप्तिका निवेदन दर्ता गराएको भूमि आयोगको तथ्याङ्क छ । अव्यवस्थित बसोवासी, भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाको स्वामित्व हस्तान्तरण गर्ने प्रयोजनका लागि जिल्लाका १३ वटै पालिकामा जग्गा नापजाँचको काम जारी रहेको छ ।