धनगढी । केही दिनदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेश सदन खुलाउने विषयमा मङ्गलबार दलहरूबिच छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र सभामुखको कार्यालयमा छुट्टैछुट्टै भएको छलफलमा दलहरू सहमतिनजिक पुगेका छन् ।
मुख्यमन्त्री कमलबहादुर शाहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बोलाउनुभएको सर्वदलीय बैठकमा प्रदेश सदन खुलाउने विषयमा छलफल भएको हो । छलफलमा प्रदेश सदन चाँडै सुचारु गर्ने बारे दलहरू लगभग सहमत भएको प्रतिपक्षी दल नेकपा एकीकृत समाजवादी का प्रमुख सचेतक नरेशकुमार शाहीले जानकारी दिए ।
उनले प्रतिपक्षी दलले राखेको विषयमा मुख्यमन्त्री शाह सकारात्मक रहनुभएकाले सदन चाँडै सुचारु हुने बताए । प्रदेश सरकारले फजुल खर्च कटौती गर्नुपर्नेलगायतका माग राखेर प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, राप्रपा, स्वतन्त्रले प्रदेश सदन अवरुद्ध गर्दै आएका छन् । प्रतिपक्षीको विरोधका कारण जारी बर्खे अधिवेशन पाँचौँ अधिवेशन को अरू बैठक बस्न सकेको छैन । प्रतिपक्षीले माग पूरा नभएसम्म सदन चल्न नदिने अडान राखेकाले मुख्यमन्त्री शाहले दोस्रो पटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बोलाइएको बैठक निष्कर्षबिनै टुङ्गिएको थियो । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले अब चाँडै नै सदन सञ्चालन गर्ने सहमति भएको बताए ।
सभामुख भीमबहादुर भण्डारीले पनि कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा बोलाएर गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षसँग छलफल गरे । । धेरै दिनसम्म सदन सञ्चालन हुन नसकेपछि सभामुख भण्डारीले सोमबार कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका थिए । कुनै पनि नाममा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने र चाँडै सुचारु गर्नुपर्ने विषयमा समितिको बैठकमा छलफल भएको थियो । प्रतिपक्षले राखेको मागको सन्दर्भमा सरकार र प्रतिपक्ष दल बसेर हल निकाल्ने समितिको बैठकले निष्कर्ष निकालेको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिए ।
प्रदेश सभाबाट आवश्यक कानुन बन्न सकेका छैनन् । वर्तमान प्रदेश सभाले अहिलेसम्म बढीजसो संशोधन ऐन मात्रै बनाएको छ । प्रदेश सभामा अहिलेसम्म संशोधनबाहेक केही नभएको प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० को संसदीय दलका नेता मानबहादुर धामीको ठहर छ ।