धनगढी । छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’को थप एक विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी महिला विधाको मनोनयन सार्वजनिक गरेको हो । छनोट समितिका संयोजक सीताराम ओझाका अनुसार खोखोकी मानमती धामी, कबड्डीकी मानमती बिष्ट र बक्सिङकी स्वस्तिका तिरुवा वर्ष खेलाडी महिलाको मनोनयनमा परेका हुन् ।
खोखोकी धामी प्रथम विश्वकपको महिलातर्फ नेपाललाई उपविजेता बनाउने खेलाडी हुन् । उक्त विश्वकपमा उनी दुई खेलमा बेष्ट अट्याक र एकपटक बेष्ट प्लेयर र बेष्ट डिफेन्डरको उपाधि जित्ने खेलाडी हुन् । बक्सिङकी तिरुवा बहराइनमा भएको आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङमा नेपाललाई स्वर्ण पदक जिताउने खेलाडी हुन् । कबड्डीकी बिष्ट नेपाललाई एसियन महिला कबड्डी च्याम्पियनसिपमा पहिलोपटक कास्य पदक जिताउने कप्तान हुन् । इरानमा भएको छैटौं एसियन महिला कबड्डी च्याम्पियनसिपमा नेपाली महिला टोलीलाई दुई दशकपछि कांस्य पदक दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।
चैत १९ गते हुने कार्यक्रममा आठ विधामा अवार्ड प्रदान गरिनेमा यसअघि नै सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् ।
सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । अब वर्ष खेलाडी पुरुषको मात्रै मनोनयन सार्वजनिक गर्न बाँकी छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी ९एसपीए०को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका, पुनरवास नगरपालिका, परशुराम नगरपालिका, कृष्णपुर नगरपालिका, कैलारी गाउँपालिका तथा धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल र बिवाइडी मोटरले पनि प्रायोजकका रुपमा साथ दिएका छन् ।