धनगढी । नयाँ वर्षको दिन धनगढीमा आयोजना हुने ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिताको तयारीमा धनगढी जेसिज जुटेको छ । धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक धनगढी जेसिजले बैशाख १ गते हुने ‘अब धनगढी दौडिन्छ’ को तयारीमा जुटेको जनाएको छ । धनगढी जेसिजले १ बैशाख, २०८२ मा आयोजना गर्न लागेको ‘अब धनगढी दौडिन्छ’ हाफ म्याराथन प्रतियोगिता ११ औं संस्करण हो । धनगढी जेसिजल सन् २०१४ बाट यो प्रतियोगिता नियमित रुपमा नयाँ वर्षको दिन आयोजना गर्दै आइरहेको छ ।
प्रतियोगिता १० औं संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृत प्राप्त गरिसकेको आयोजकले जनाएको छ । हाफ म्याराथनको विजेताले नगद ७५ हजार, उप–विजेताले ५० हजार र तेश्रो हुनेले नगद २५ हजार प्राप्त गर्नेछन् । हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटास्थित मनेहरा पुल हुँदै पुनः धनगढी रंगशाला पुगेर समापन हुने संयोजक दिपक गौतमले बताए । यस्तै, प्रतियोगिता अन्तर्गत महिलातर्फ तथा कर्पोरेट र संचारको ५ कि।मी। दौड आयोजना गरिनेछ । धनगढी जेसिजका महासचिव आशिष शाहले विजेताले ७ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने छ भने उप–विजेताले ५ हजार र तेस्रो हुनेले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने बाए ।
खेलकुदको माध्यमबाट युवालाई विकासमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुदै आएको प्रतियोगितामा धावक नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागिता हुने जेसिस धनगढीका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । नयाँ वर्ष २०८१ का अवसरमा आयोजित हाफ म्याराथन प्रतियोगितामा मुकेशबहादुर पाल प्रथम भएका थिए । उनले २१ किलोमिटर दूरीको हाफ म्याराथन एक घण्टा सात मिनेट ५७ दशमलव ३५ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान प्राप्त गरेका थिए ।