धनगढी । धनगढीमा विश्व क्षयरोग दिवसको अवसरमा सञ्चारकर्मीसँग अन्तर्क्रिया कार्यक्रम गरिएको छ। ” हो हामी क्षय रोगको अन्त्य गर्न सक्छौं, लगानीको प्रतिबद्धता, सेवा प्रवाहको सुनिश्चितता र आजको आवश्यकता ” भन्ने मूल नाराका साथ गरेको कार्यक्रममा क्षयरोगको वर्तमान अवस्थाबारे जानकारी दिइएको थियो।
स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनामा विश्व क्षयरोगको अवस्था, न्यूनीकरणका चुनौती, उपचारको उपलब्धता, भौगोलिक हिसाबमा बिरामीको अवस्था, लगायतका विविध विषयमा छलफल गरिएको थियो ।
सुदूरपश्चिममा सबै भन्दा बढी क्षयरोगका बिरामी कैलाली र कञ्चनपुर रहेका तर लक्ष्य अनुसार बिरामी पत्ता लगाउन नसकिएको स्वास्थ्य निर्देशनालय डोटीका क्षयकुष्ट अधिकृत मनोज ओझाले जानकारी दिए। सरकारले बर्षै पिच्छे बजेट घटाउनाले पनि चुनौति थपिएको बताए।
यस्तै बरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरले व्यवस्थापन पक्ष केहि फितलो र आफुहरु त्यसमा चुकिरहँदा लक्ष्य अनुसारको काम हुन नसकेको बताए।
विश्वमा भारत चिनमा क्षयरोगको संक्रमणको अवस्था उच्च रहेको देखिन्छ। विश्वमा १ करोड ८ लाख क्षय रोगका बिरामी पत्ता लागेकोमा १२ लाख ५० हजारको क्षयरोगकै कारण मृत्यु हुने गरेको विवरण रहेको छ। नेपालमा भने ४० हजार ७ सय ७५ जना पत्ता लागेकोमा झण्डै १८ हजारको क्षयरोगका कारण मृत्यु भएको तथ्याङ्क रहेको छ।