धनगढी । कैलालीमा अनुमति बिना वन क्षेत्रमा बसेका विदेशी नागरिक अझै फर्किएका छैनन् । घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बसेका विदेशी नागरिकलाई बिहीबार नै जिल्ला प्रशासन कार्यालय कैलालीले २४ घण्टाभित्र ठाउँ छाड्न निर्देशन दिए पनि आधा विदेशी नागरिक अझै जङ्गलमै रहेका छन ।
सामूहिक रुपमा जंगलमा बस्दै आएकाहरुमध्ये केही फर्किए पनि अझै करिब ६० जना त्यहीँ बसिरहेका छन् । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले गत विहीबार उनीहरुलाई भेटेर २४ घण्टाभित्र जंगल छाड्न निर्देशन दिएका थिए । निर्देशनपछि केही फर्किएका र केही अझै त्यहीँ बसिरहेका प्रजिअ हमालले बताए । ‘अझै करिब ६०÷७० जना बाँकी छन्, उनीहरु पनि बिस्तारै फर्किने क्रममा छन,’ प्रजिअ हमालले भने, ‘आज–भोलिमै फर्किन्छन् होला ।’
उनीहरु पर्यटक भिसामा नेपाल आएका थिए । प्रमुख जिल्ला अधिकारी हमालका अनुसार त्यहाँ भारत, अमेरिका, चीन, जापान लगायत ३८ देशका एक सय बढी नागरिकहरु छन् । उनीहरू त्यहाँ अर्धनग्न भएर बस्ने, खानपान, नाचगान गर्ने लगायतका गतिविधि गर्दै आएका छन् । विदेशी नागरिकहरु जंगल क्षेत्रमा बसेर ‘अस्वाभाविक’ गतिविधि गर्दै आएको सूचना पाएपछि गत बिहीबार प्रमुख जिल्ला अधिकारी हमाल उनीहरु बसेको ठाउँमै पुगेर २४ घण्टाभित्र जंगल छाड्न भनेका थिए । तर, उनीहरुले निर्देशन अटेर गरेका छन् ।
उनीहरु फर्किन अटेर गरे पनि बसिरहेको स्थानमा जंगल, समुदाय कसैलाई पनि प्रत्यक्ष क्षति नपुर्याएको भन्दै स्थानीय प्रशासनले बल पनि प्रयोग गरेको छैन । तर निगरानी भने बढाइएको प्रमुख जिल्ला अधिकारी हमालले बताए । उनीहरुले प्रकृतिमा रमाउन विभिन्न देशमा घुम्ने गरेको र त्यहीक्रममा नेपाल आएको बताएका छन् । उनीहरुले आफूलाई ‘रेन्बो फेमिली ग्यादरिङ’ समूहका सदस्य भएको ‘नेचर लभर’ भएको बताएका छन् ।