धनगढी । सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले ठूला दल मिल्दा विद्यार्थी राजनीतिमा पनि सकारात्मक प्रभाव परेको बताए। आज कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले गरेको सारांशमा दुई वर्ष कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।
कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको पूर्व सभापति समेत रहेका मेघराज खड्काले नैतिकता र संस्कारयुक्त राजनीति गर्नको लागि राजनीतिकर्मीले विद्यार्थी नेतादेखि नै सिक्नुपर्ने बताए। आफ्नो समयमा पञ्चायत विरुद्धको राजनीति हावी भएकाले आफूहरूले पनि त्यही किसिमको राजनीतिक अभ्यास गरेको बताए।
साथै अबको विद्यार्थी नेता विद्रोही स्वभावको मात्रै नभएर अनुशासित र भोलिको जिम्मेवार नेता बन्न सक्नुपर्ने पनि उनको भनाइ रहेको थियो।
स्वतन्त्र विद्यार्थी युनियन कैलाली बहुमुखी क्याम्पसले निर्वाचित भएदेखि हाल दुई वर्षको अन्तरालमा गरेका कार्यहरूबारे सारांशमा दुई वर्ष वित्तचित्र, कार्यविवरण र आयव्यय प्रस्तुत कार्यक्रम सुदूरपश्चिम सरकारका समाज विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता गरेको थियो। कार्यक्रमको सभापतिमा स्ववियु सभापति यमराज जोशी , क्याम्पस प्रमुख तोयराज भट्ट, क्याम्पसका अन्य प्राध्यापक र विद्यार्थीसँगै अतिथिहरूमा पूर्व स्ववियु सभापति चुडामणि भट्ट, हरि रेग्मी, यज्ञ ढुङ्गाना लगातको उपस्थिति रहेको थियो।