धनगढी । कैलालीमा अनुमति बिना वन क्षेत्रमा बसेका एक सय भन्दा बढी विदेशी नागरिक अझै फर्किएका छैनन् । घोडाघोडी नगरपालिका–९ को सिमली जङ्गलमा बसेका विदेशी नागरिकलाई बिहीबार जिल्ला प्रशासन कार्यालय कैलालीले ठाउँ छाड्न निर्देशन दिए पनि आधा अझै जङ्गलमै रहेको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले आधा जति ठाउँ छोडेर गए पनि आधा अझै सोही ठाउँमा बाकी रहेको र, जाने क्रम जारी रहेको बताए । उनले भने ‘उनीहरू जाने क्रम जारी छ । हाम्रो प्रहरीले पनि जुन जुन ठाउँबाट आउनु भएको थियो । त्यही फर्किनुस् भनिरहेको छ । उनीहरूको जाने क्रम जारी छ ।’ उनले आज भोलि सम्ममा सबै गइसक्ने बताए । फर्किएकाहरु कता गए भन्ने जानकारी भने प्रशासन सँग नभएको उनले बताए ।
सिमली जङ्गलमा करिब हप्ता दिनदेखि भारत, अमेरिका, चिन लगायतका देशका नागरिक बसेका थिए । रेन्बो फेमली ग्यादरिङ नाम दिएर समूहमा आएका उनीहरूले कुनै पनि निकायबाट अनुमति नलिएको पाइएपछि बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल नेतृत्वको टोलीले छाड्न निर्देशन दिएको थियो ।
उनीहरू वन क्षेत्रमा बसेर अर्धनग्न हुने, आपसीमा अस्वाभाविक गतिविधि गर्ने जस्ता गुनासा आएपछि सुरक्षा निकायको टोली वन क्षेत्रमा पुगेको थियो ।