धनगढी । अछामको ढकारी गाउँपालिका–८ पल्साता गाउँकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका दुई किशोरलाई अछाम जिल्ला अदालतले डोटीमा रहेको बाल सुधार गृह पठाउने आदेश दिएको छ । जिल्ला प्रहरी कार्यालय अछामले घटनाको सम्पूर्ण अनुसन्धान सकेर जिल्ला अदालतलाई प्रतिवेदन बुझाएको थियो । प्रहरीले गरेको अनुसन्धानका आधारमा अदालतले ती दुई किशोरलाई सुधार गृहमा पठाउन आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालयका निरीक्षक टेकबहादुर देउवाका अनुसार हत्यामा संलग्न दुवै किशोर १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो । ‘प्रहरी कार्यालयले सबै अनुसन्धान गरेर यो केसलाई अदालतमा बुझाइसकेको छ । अदालतले भने फैसला गरेको छैन । अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने प्रक्रिया चलिरहेको छ,’ निरीक्षक देउवाले भने, ‘नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई कारागार पठाउन मिल्दैन । उमेर पुगेपछि मात्रै कानुनी प्रक्रियाअनुसार कारागार चलान गरिन्छ ।’
प्रहरी अनुसन्धान अनुसार १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वती ती किशोरहरूसँग प्रेम सम्बन्धमा रहेको खुलेको छ । प्रहरीले घटनाको अनुसन्धान गर्दै शारीरिक सम्बन्ध राख्न अस्वीकार गरेकै कारण बीभत्स तरिकाले हत्या गरिएको निष्कर्ष निकालेको छ ।