धनगढी । सुदूरपश्चिम प्रदेशकै ठुलो सहकारी संस्थाको रुपमा रहेको नवजीवन सहकारीले नवजीवन खाद्य उद्योगको स्थापना गरी अज देखि चामल बिक्रि वितरण सुरु गरेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थित मजगाउँमा नवजीवन सहकारी संस्था लिमिटेडले सुरु गरेको नवजीवन खाद्य उद्योगले आजदेखि चामल बिक्रि वितरण सुरु गरेको हो ।
जस्का लागि उद्योगले १६ हजार २८ क्विन्टल धान खरिद गरि १ हजार १८४ क्विन्टल धान कुटाइ गरिसकेको छ । जसबाट ६२९ क्विन्टल चामल उत्पादन भएको छ । खाद्य उद्योग स्थलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष देव बहादुर बमले मोटो र मसिनो गरि दुई भागमा चामललाई छुट्याइएको बताए ।
२५ किलोको मोटो चामलको १४ सय र मसिनो चामलको २२ सय दर तोकिएको उनले बताए । धानको मूल्य अनुसार चामलको दर तलमाथि हुनसक्ने उनले बताए । उनका अनुसार पहिलो चरणमा नवजीवन सहकारी संस्थाका १० वटै सेवाकेन्द्रहरुबाट बिक्रि वितरण गरिने छ ।
छिटै सहकारी मन्त्रालयसंग समन्वय गरि गाडिको व्यवस्थापन गरिने र चामल होम डेलिभरीको व्यवस्था पनि गरिने बमले बताए । नवजीवनका ३६ हजार शेयर सदस्यसहित आम जनताले शुद्ध र र्अग्यानीक चामल खान पाउन भन्ने उदेश्यले नवजीवनले पहिलो चरणमा चामल उत्पादन सुरु गरेको र आगामी दिनमा पिठो र तेल उत्पादनका साथै पानी फ्याक्ट्री सञ्चालनको योजना अघि बढाएको उनले बताए ।
यस क्षेत्रलाई नवजीवन औद्योगिक ग्रामका रुपमा विकास गरिने भन्दै बमले शेयर सदस्यहरुलाई कृषिमा आकर्षित गर्नुका साथै प्रत्यक्ष,अप्रत्यक्ष रोजगारी सिर्जना गर्नु नवजीवनको भावी योजना रहेको बताए । रानी जमरा सिँचाई आयोजना सुरु भएमा त्यहाँका किसानलाई बिउ वितरणको योजना पनि अघि बढाइने उनको भनाई छ ।
२०५० सालमा स्थापना भएको नवजीवन सहकारी संस्था हाल सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशमा १० शाखासहित सञ्चालनमा छ । ३६ हजार ८१ जना शेयर सदस्य रहेको यस सहकारीमा ३१ करोड ३४ लाख शेयर पूँजी रहेको छ । ५ अर्ब ७३ लाख ६४ हजार निक्षेप संकलन गरि ४ अर्ब १६ करोड १४ लाख रुपैयाँ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सहकारीले कृषि उप आयोजना अन्तरगत डेढ करोड लगानी गरेर मिल सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि धान खरिद केन्द्रका रूपमा रहेको स्थानमा नवजीवन ब्रान्डका रूपमा चामल उत्पादन गर्ने उद्देश्यले मिल सञ्चालनमा ल्याइएको हो ।