धनगढी । पत्रकारिताको सुरुवात साहित्यबाट भएको भए पनि अहिले साहित्यिक पत्रकारिता संकटमा छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले सिर्जनात्मकता र पाठक अभावका कारण यो क्षेत्र ओझेलमा परेको बताए। “पत्रिका निस्किए पनि पढ्नेको अभाव छ,” उनले भने।
पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले पत्रकारिता एक कला भएको भन्दै साहित्यले यसलाई अघि बढाउन सघाएको बताए। “पश्चिमा प्रभावले हाम्रो मौलिकता गुम्दै छ, हामीले कला र संस्कृतिको संरक्षण गर्नुपर्छ,” उनले भने।
वरिष्ठ पत्रकार चित्राङ्क थापाले सुदूरपश्चिम साहित्यिक पत्रकारिताका लागि उर्वरभूमि भए पनि आर्थिक अभावले धेरै पत्रिका बन्द भएको बताए। “विगतमा गुगुल्डी सुदूर र चिनारी जस्ता पत्रिका निस्किए पनि अहिले टिकाउन गाह्रो छ,” पत्रकार नारायण अवस्थीले भने।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टिएन जोशीले प्रज्ञा प्रतिष्ठानले कला र संस्कृतिको जगेर्ना गर्दै आएको बताए।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र मिडिया नेपालले आयोजना गरेको संगोष्ठीमा पत्रकारहरूले राज्यले साहित्यिक पत्रकारितामा लगानी गर्नुपर्ने माग गरेका छन्। पाठक र सरकारको चासो बिना साहित्यिक पत्रकारिता बच्न गाह्रो छ।