काठमाडौं । आजदेखि तीन दिनसम्म बादल लाग्ने र हल्का खालको पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । अरेवियन सागर हुँदै आएको पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बादल लाग्ने, हल्का पानी पर्ने र उच्च पहाडी भूभागमा हल्का हिमपात हुने समेत सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरका अनुसार पश्चिमी र स्थानीय वायुको प्रभावले आज बिहानैदेखि बादल लागिरहेको छ । उनका अनुसार आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तो सम्भावना तीन दिनसम्म हुने देखिएको उनले बताइन् ।
‘पर्सि साँझबाट बल्ल मौसममा क्रमिक सुधार हुन्छ,’ मौसमविद मानन्धरले भनिन् । उनका अनुसार अहिले कोशी प्रदेशका तराई क्षेत्रमा फाटफुट खालको पानी पर्न थालिसकेको छ । आज काठमाडौंमा पनि पानी पर्ने सम्भावना छ । ‘तर ठूलो पानी पर्दैन, हल्का खालको पानी पर्ने सम्भावना छ,’ उनले भनिन् ।