धनगढी — एसईई परीक्षाको पहिलो दिन अंग्रेजी विषयको प्रश्नपत्रसहित कैलालीको सरस्वती मावि लम्की कौवापुरका शिक्षक दीपक धमलालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । धमलालाई प्रहरीले राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट इलाका प्रहरी कार्यालय लम्कीको प्रहरी टोलीले पक्राउ गरेको हो । ‘धमलालाई अंग्रेजीको प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो,’ इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले भने, ‘उनको मोबाइलमा रहेको म्यासेन्जरमा अछामबाट महेन्द्र धमलाले प्रश्नपत्र पठाएको पाइएको छ । प्रश्नपत्र बिहीबार बिहान साढे ९ बजेट पठाएको देखिएको छ ।’ प्रहरी निरीक्षक सिंहले घटनाबारेमा परीक्षा समितिमा जानकारी गराइएको बताए ।
कैलाली लगायत सुदूरपश्चिममा एसईई परीक्षाको पहिलो दिन शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन भएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक दुर्गादत्त विष्टले बताए । निर्देशनालयका अनुसार यस वर्ष सुदूरपश्चिमबाट ५८ हजार ९४३ परीक्षार्थी रहेका छन् । जसमध्ये ३० हजार ८७७ छात्रा र २८ हजार ६६ छात्र परीक्षार्थी रहेका छन् । साधारणतर्फ ४३ हजार ९२३, प्राविधिक धारतर्फ दुई हजार ९२ र ग्रेड वृद्धितर्फ १२ हजार ९२८ परीक्षार्थी सहभागी भएको निर्देशनालयका महानिर्देशक दुर्गादत्त विष्टले जानकारी दिए ।
कैलालीमा सबैभन्दा बढी १९ हजार ४८८, कञ्चनपुरमा ११ हजार ३०१, बैतडीमा ५ हजार ३६२, अछाममा ५ हजार २९, डोटीमा ४ हजार ६२, बझाङमा ४ हजार ६४४, दार्चुलामा ३ हजार ३७, बाजुरामा ३ हजार १८ र डडेलधुरा दुई हजार ८०२ परीक्षार्थी सहभागी रहेका छन् ।