धनगढी । कैलालीको गेटा अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट डा। प्रमोदकुमार यादवलाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशकमा डा। यादवलाई नियुक्त गरेको हो । केही समययता रिक्त निर्देशक पदमा यसअघि ट्रमा सेन्टरको निर्देशक रहिसकेका यादवलाई मन्त्रालयको सचिव स्तरीय निर्णयका आधारमा जिम्मेवारी प्रदान गरिएको छ ।
यसअघि अस्पतालको निर्देशक डा। अशोक श्रीपाईली रहेका थिए । उनी निर्देशकमा नियुक्त भएको ३ महिनामै राजीनामा दिएर गएपछि विगत २ महिना देखि अस्पताल नेतृत्व विहीन थियो ।
हाल गेटा अस्पतालको निर्देशकमा नियुक्त भएका डा। यादव यसअघि जनकपुर प्रादेशिक अस्पतालमा समेत निर्देशकको रूपमा काम गरिसकेका छन् ।
सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको छ । हाल विश्वविद्यालय अन्तरगत रहेन गरी ५० शय्याको अस्पताल सञ्चालनमा रहेको छ । गेटामा २०८० कार्तिक १ गते देखि अस्पताल सञ्चालनमा आएको थियो । अस्पताल सञ्चालन आएयता २ जना निर्देशक फेरिसकेका छन् ।