अछाम — लामो समयसम्म विदेशी दाताको सहयोग पाएर विशेषज्ञ सेवा दिइरहेको अछामको बयालपाटा अस्पताललाई आर्थिक संकट परेको छ । सामान्यदेखि विषेशज्ञ सेवा सबै निस्शुल्क दिइरहेको अस्पताल सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रको पहिलो उपचारको गन्तव्य पनि हो । सुदूर र कर्णालीका बिरामीलाई निस्शुल्क विशेषज्ञ सेवा दिइरहेको बयालपाटा अस्पतालले मंगलबार सूचना जारी गर्दै आर्थिक संकटका कारण जुनुसुकै बेला पनि सेवा प्रवाह रोकिन सक्ने बताएको छ । ‘अस्पतालबाट प्रवाहित सेवाहरुको उपयुक्त व्यवस्थापनका लागि आर्थिक संकटको सामाना गरिरहनुपरेको अवस्था छ,’ अस्पतालले जारी गरेको सूचनामा उल्लेख भनिएको छ,‘ प्रतिकूल परिस्थितिमा अस्पतालमा रिक्त रहेका चिकित्सक तथा स्वास्थयकर्मीको पदपूर्ति गर्न सकिरहेका छैनौं । बिरामीलाई आवश्यक पर्ने औषधि, ल्याब तथा अन्य सामग्रीको खरिद भण्डारण तथा आपूर्ति गर्नसमेत कठिनाइ भइरहेको छ ।’
सेवाग्राहीलाई समयभित्र जाँच गर्न र आवश्यकताअनुसार सबै औषधि उपलब्ध गराउन समस्या हुँदै गएको अस्पताल जनप्रशासन विभागले जनाएको छ । सूचनामा उल्लेख गरिएको छ, ‘आवश्यक जनशक्ति अभावका कारण समयभित्र उपचार सेवा उपलब्ध गराउनका लागि निम्तिन सक्ने सम्भाव्य प्रतिकूल परिस्थितिप्रति बयालपाटा अस्पताल क्षमाप्रार्थी रहनेछ ।’ बयालपाटा अस्पतालका लागि चालू आवमा विभिन्न शीर्षकमा ७ करोड बढीभन्दा बजेट विनियोजन गरिएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले बताए । ‘बयालपाटा अस्पतालले जनशक्तिलाई तलबभत्ताका लागि बजेट माग गरिरहेको छ । संस्थाले चलाएको अपताल हो, अहिलेसम्म सरकारको कुनै साझेदारी छैन । यसरी चलाएको अस्पतालमा तलबका लागि र अनुदान भनेर बजेट दिने कानुनी आधार छैन,’ मन्त्री खड्काले भने,‘ प्रदेश सरकारले एक कार्यदल बनाएर अस्पताल सञ्चालनका बारेमा संस्थासग छलफल पनि गरिरहेको छ । अस्पताल बन्द नै हुने अवस्था आयो भने त्यसको सबै जिम्मेवारी सरकारले लिन्छ ।’
विदेशी दाताले गर्ने सहयोग घटेपछि अस्पतालले हरेक वर्ष आर्थिक संकटको सामना गरिरहेको उनको भनाइ छ । उनका अनुसार एक आर्थिक वर्षमा अस्पताल सञ्चालनका लागि २२ करोड बजेट आवश्यक पर्छ । ‘गत आवमा सुदूपश्चिम प्रदेशबाट ९ करोड बजेट विनियोजनको खबर आएको थियो । त्योमध्ये ४ करोड स्वास्थ्य निर्देशनालयमार्फत सहजै आयो । तर विनियोजन नै गरेको ५ करोड रुपैयाँका लागि धेरै धाउनुपर्यो,’ उनले भने, ‘बाँकी ५ करोड रुपैयाँ असार मसान्तमा आयो । २र३ दिनमा खर्च गरिसक्ने गरी अन्तिममा आउँछ । अस्पताल जस्तो संवेदनशील क्षेत्रमा पनि यस्तो लापरबाही छ । वर्षभरि आर्थिक समस्याले सेवा प्रभावित भएको हुन्छ । एकै दिनमा यत्रो बजेट कसरी खर्च गर्न सकिन्छ भन्नेबारे कसैले सोच्दैनन् ।’
मन्त्री खड्काका अनुसार बयालपाटा अस्पताल सञ्चालनका लागि अछाम, बाजुरा र डोटीका केही स्थानीय तहले पनि सहयोग गरिरहेका छन् । अछामको साँफेबगर नगरपालिकाले १ करोड, बान्नीगढी जयगढ गाउँपालिकाले १० लाख, मंगलसेन र कमलबजार नगरपालिकाले ५र५ लाख बजेट विनियोजन गरेका छन् । त्यस्तै बाजुराको त्रिवेणी नगरपालिकाले १० लाख, बुढीगंगा नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको जानकारी आएको उनले बताए । डोटीको पूर्वीचौकी गाउँपालिकाले अघिल्ला वर्षमा सहयोग गर्दै आए पनि यो पटक अस्पतालका लागि कति बजेट दिने भन्नेबारे आधिकारिक जानकारी नआएको उनको भनाइ छ ।
सन् २००८ मा न्याय हेल्थ नेपाल र अमेरिकामा रहेको पोसिबल अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक र प्राविधिक सहयोगमा अस्पताल स्थापना भएको हो । अस्पतालले २०७८र७९ सम्म ११ लाख ५२ हजार बिरामीलाई सेवा दिएको अस्पतालका मेडिकल निर्देशक एवं हाडजोनी विषेशज्ञ डाक्टर मन्दीप पाठकले बताए । विषेशगरी ग्रामीण भेगमा उपचार नपाएका र बाहिर गएर उपचार गर्न सक्ने आर्थिक अवस्था कमजोर भएका बिरामीलाई अस्पतालले बढी केन्द्रित गरेर सेवा दिइरहेको छ । ‘दैनिकजसो बालबालिकाको हातखुट्टा भाँचिएका, काम गर्ने क्रममा धेरै महिलाको हड्डी भाँचिएका केस आउँछन् । उनीहरु राम्रो उपचारका लागि हत्तपत्त बाहिर गइहाल्ने अवस्था हुँदैन,’ पाठकले भने ,‘गाह्रो केसभन्दा पनि ग्रामीण भेगमा रहेका केसलाई अस्पतालसम्म ल्याउने गरी सेवा दिइरहेका छौं ।’
अस्पतालका सूचना अधिकारी पूर्ण खड्काका अनुसार बयालपाटा अस्पताल अछाम, बाजुरा र डोटीको लागि पहिलो अस्पतालको रुपमा रहेको छ । ‘कर्णाली प्रदेशको डोल्पा, मुगु, कालिकोट, दैलेख र कैलाली, कञ्चनपुरसम्मका बिरामी पनि आउने गरेका छन्,’ खड्काले भने, ‘हाडजोर्नी विशेषज्ञ डाक्टर मन्दीप पाठक भएकाले हाडजोर्नीका बिरामी टाढाटाढाबाट पनि आउँछन् ।’ यहाँ विशेषज्ञ डाक्टर पाठकसहित ७ जना डाक्टर छन् ।कान्तिपुरबाट