धनगढी: कैलालीको चौमाला बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा दुई जना उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट विजेता छानिएको छ । नेविसंघका दिलबहादुर ताम्राकार र स्वतन्त्र उम्मेदवार योगेन्द्रकुमार जोशीको बराबर मत आएपछि बिहीबार बिहान निर्वाचन समितिले गोलाप्रथा गरेको थियो ।
निर्वाचन अधिकृत रमेश भट्टका अनुसार गोलाप्रथामा स्वतन्त्र उम्मेदवार जोशी स्ववियु सभापतिमा निर्वाचित भएका छन् । ५ चैतमा भएको निर्वाचनमा दुवै उम्मेदवारले समान १५५ मत ल्याएका थिए । यस्तै, उक्त क्याम्पसको स्ववियु सचिवमा संयुक्त अखिल प्यानलकी पुष्पाकुमारी आचार्य र कोषाध्यक्षमा नेविसंघकी लक्ष्मी ओझा विजयी भएका छन् । दुई जना स्ववियु सदस्यमा पनि नेविसंघकै उम्मेदवार विजयी भएका छन् ।