धनगढी: कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लाहरु । जहाँ हवाई सेवाको अत्यावश्यक छ, तर उडान छैन । कर्णालीमा प्रदेश राजधानी सुर्खेतबाट झण्डै तीन महिनादेखि पहाडी जिल्लाहरु मुगु, हुम्ला र जुम्लामा उडान भर्दै आएको तारा एयरले उडान बन्द गरेको छ । यता, डडेलधुराबाहेक सुदूरपश्चिमका सबै पहाडी जिल्लामा विमानस्थल भए पनि आंशिक रुपमा सेवा सञ्चालनमा रहेको बाजुराबाहेक सबै बझाङ, साँफेबगर, कमलबजार, दीपायल, पाटन विमानस्थल सुनसान छन् ।
गत कात्तिक १२ गते । कैलालीको टीकापुर विमानस्थलमा परीक्षण उडान हुँदै थियो । टीकापुर एयरपोर्टबाट हवाई सेवा सञ्चालन हुन लागेको भन्दै त्यसदिन टीकापुर नगरपालिकाले विमानस्थलमा बाजागाजासहित भव्य स्वागतका लागि आह्वान गरेपछि गाउँगाउँबाट सांस्कृतिक झाँकीहरु प्रस्तुत भए । राजनीतिक दलका नेताहरुले भाषण गरे । २०४२ सालमा स्थापना भएको टीकापुर विमानस्थल ०५४ देखि बन्द अवस्थामा थियो । ०७१ सालमा यस विमानस्थलमा तारा एयरले परीक्षण उडान गरेको भए पनि सेवा भने सञ्चालन हुन सकेन । करिब १० वर्षपछि टीकापुरमा पुनः परीक्षण उडान भएको थियो ।
२६ वर्षपछि गत कात्तिक १२ गते नेपाल वायु सेवा निगमको जहाजले टीकापुर विमानस्थलमा परीक्षण उडान गर्यो । परीक्षण उडान सफल भएपछि तारा एयरले मंसिर ३० गतेदेखि नियमित उडान सुरु गरेको थियो । तर निकै तामझामका साथ हवाई सेवा पुनःसञ्चालन गरिएको टीकापुर विमानस्थलको हवाई सेवा फेरि बन्द हुने अवस्थामा पुगेको छ । टीकापुर नगरपालिकाले १५ सिट बराबरको रकम सुनिश्चित गरेपछि तारा एयरले टीकापुर विमानस्थलबाट व्यवसायिक टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान सुरु गरेको थियो । सिट खाली रहेको अवस्थामा नगरपालिकाले प्रति सिट साढे आठ हजार रुपैयाँका दरले तारा एयरलाई नगरपालिकाले रकम भुक्तानी गर्ने सम्झौता गरेको थियो । सेवा सुरु गर्दा साताको तीन दिन टीकापुर–नेपालगञ्ज–काठमाडौं उडान भर्दै आएकोमा फागुन २६ गतेदेखि उडान संख्या घटाएर सातामा एकदिन मात्रै उडान गर्न थालेको छ ।
तारा एयरले फागुन १९ गते टीकापुर नगरपालिकालाई पत्राचार गर्दै साताको एक दिन सोमबार मात्रै उडान भर्न सकिने जानकारी दिएको हो । तारा एयरले मार्च महिनादेखि जहाज नेपालगञ्ज बेस नहुने भएकाले उडान संख्या घटाउनु परेको पत्रमा उल्लेख गरिएको छ । पछिल्लो समय टीकापुर क्षेत्रका नेताहरुले टीकापुर विमानस्थलको सञ्चालनलाई प्रमुख नारा बनाउँदै आएका छन् । टीकापुर विमानस्थलमा हवाई सेवा नियमितताको धरमर देखिदै गर्दा करोडौं खर्चिएर निर्माण सम्पन्न गरिएका सुदूरपश्चिमका पहाडी जिल्लाका विमानस्थलहरु यतिबेला बन्द अवस्थामा छन् । सुदूरपश्चिममा डडेल्धुराबाहेक सबै पहाडी जिल्लामा विमानस्थल छन् । बैतडीको पाटन, डोटीको दीपायल, अछामको साँफेबगर र कमलबजार, बझाङको देवल विमानस्थलमा हवाई सेवा सञ्चालनमा छैन । दार्चुलाको गोकुलेश्वर, कञ्चनपुरको महेन्द्रनगर निर्माणाधीन छन् । कैलालीको टीकापुर विमानस्थलबाट टीकापुर–नेपालगञ्ज–काठमाण्डौं साताको एक दिन र बाजुरा विमानस्थलबाट बाजुरा–नेपालगञ्ज फाट्टफुट्ट हवाई सेवा सञ्चालनमा छ । बाजुराबाट नेपालगञ्ज तारा, सिता समिटले उडान भर्दै आएको बाजुरा नागरिक उड्यन कार्यालयका प्रमुख प्रदीप भुसालले बताए ।
बझाङमा रहेको देवल विमानस्थल बन्द भएको झण्डै १२ वर्षपछि ०७७ असोज १७ गते समिट एयरको विमानले परीक्षण उडान भरेको थियो । त्यसपछि निजी विमान सेवा कम्पनी समिट एयरले केही समय सेवा सञ्चालन गर्दै आएको थियो । दुई महिना यता समिट एयरले पनि जहाज पूर्वतिर पठाउनु परेको भन्दै सेवा बन्द गरेको छ । ‘हवाई सेवा बन्द भएपछि आपत्कालीन उपचारका लागि सुविधासम्पन्न अस्पतालमा पुर्याउनु पर्ने विरामीले उपचार अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था छ,’ चैनपुरका वीरबहादुर खड्काले भने ‘पहिलाकै जस्तो अवस्था आएको छ ।’ ०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको देवल बझाङको विमानस्थल ०६५ सालसम्म सञ्चालनमा थियो । त्यस बेलासम्म यस विमानस्थलबाट निजी विमान कम्पनीहरुले पनि नेपालगन्ज र धनगढीका लागि उडान भर्थे । तर ०६६ सालमा नेपाल वायुसेवा निगमले पनि बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालय बन्द गरेको थियो ।
बझाङ नागरिक उड्ययन कार्यालयका प्रमुख मोहन गिरीले करिब एक महिनादेखि उडान नभएको बताए । समिट एयरले सोमबार धनगढी–बझाङ–धनगढी र बिहीबार धनगढी–बझाङ–नेपालगञ्ज हवाई सेवा सञ्चालन गर्दै आएको थियो । ‘कहिले चल्छ भन्ने यकिन छैन,’ गिरीले भने । कुनै समय निकै चलेको विमानस्थल हो–अछामको साँफेबगर विमानस्थल । साँफेबगरदेखि धनगढी–नेपालगञ्ज उडान सेवा हुने उक्त विमानस्थलमा अछाम र बाजुराका यात्रीहरुको घुँइचो हुन्थ्यो । टिकट पाउनका लागि पहुँच चाहिन्थ्यो । तर यतिबेला उक्त विमानस्थल पनि सुनसान छ ।
तत्कालीन माओवादीले ०५८ फागुन ४ गते साँफेबगरमा आक्रमणका क्रममा विमानस्थलसमेत ध्वस्त बनाए । नियमित हवाई सेवा नभएपनि ०६२ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल त्यही वर्षदेखि पूर्णरुपमा बन्द भएको थियो । बन्द भएको १३ वर्षपछि ०७५ जेठ ११ गते साँफेबगर विमानस्थलमा परीक्षण उडान गरिएको थियो । साँफेबर नागरिक उड्ययन कार्यालयका प्रमुख कृष्ण साह करिब एक महिनायता हवाई सेवा रोकिएको बताउँछन् । त्यसअघि यस समिट एयरले सोमबार साँफेबगर–धनगढी र विहिबार साँफेबगर–नेपालगञ्ज उडान भर्दै आएको थियो । ‘१ अप्रिल देखि चल्ने कुरा छ,’ प्रमुख साहले भने ‘हेरौं के हुन्छ ।’ अहिले आफू र एक जना कार्यालय सहयोगी मात्र कार्यरत रहेको उनले बताए ।
अछामकै अर्को विमानस्थल कमलबजार विमानस्थलमा पनि ०८१ पुस १३ गते परीक्षण उडान गरिएको थियो । तर हवाई सेवा सञ्चालन नै हुन सकेन । ‘कमलबजार विमानस्थल पनि मैले नै हेर्ने हो, विमानस्थलमा हाम्रा कर्मचारी छैनन्, विमानस्थल सुरक्षा गार्डले हेरचाह गर्छन्,’ साँफेबगर विमानस्थलका प्रमुख साहले भने । बैतडी, दार्चुला, डडेल्धुरा र बझाङको केन्द्र भागमा रहेको बैतडीको पाटन विमानस्थल पनि बन्द छ । बन्द भएको २६ वर्षपछि पुनः सञ्चालनमा ल्याइएको पाटन विमानस्थलमा ०७७ असोज १७ गते परीक्षण उडान गरिएको थियो । त्यस लगत्तैदेखि केहि समय समिट एयरले आंशिक रुपमा धनगढी–पाटन–धनगढी उडान पनि सञ्चालन गर्यो । तर यात्रु अभावको कारण देखाउँदै ०७८ चैत देखि समिटले सेवा बन्द गर्यो । त्यसयता उक्त विमानस्थल बन्द छ । उडान नभरेपछि विमानस्थल पुनः बन्द भएको छ ।
०३२ सालदेखि निर्माण सुरु भएर ०३६ सालदेखि पाटन विमानस्थल सञ्चालनमा आएको थियो । ०५२ सालदेखि हवाई सेवा बन्द भएको पाटन विमानस्थलमा तत्कालीन माओवादीले ०५८ सालमा कार्यालय, टावर पूर्ण रुपमा ध्वस्त बनाएका थिए । डोटीको दिपायल विमानस्थलको हालत पनि पाटनको जस्तै छ । ०७७ असोज १७ गते दिपालय विमानस्थलमा समिट एयरलाइन्सले उडान परीक्षण गरेपछि केही समय सेवा सञ्चालन पनि गर्यो । तर निरन्तरता दिन सकेन । त्यसपछि नेपाल एयरलाइन्सले केही समय सेवा सञ्चालन गरेको भएपनि नियमित गर्न सकेन । ०७९ असोजदेखि उक्त विमानस्थलमा उडान नभएको साँफेबगर विमानस्थलका प्रमुख साह बताउँछन् । ‘दीपायल विमानस्थलमा पनि मैले नै हेर्छु,’ साँफेबगर विमानस्थलका प्रमुख साहले भने,‘जहाज नहुनु नै मुख्य समस्या हो । जहाजै नभएपछि एयरपोर्ट कसरी चल्नु ।’
दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको महेन्द्रनगर विमानस्थल अहिले पनि निर्माणाधीन अवस्थामा छन् । ०४४ सालमा विमानस्थल निर्माण कार्य सुरु भएर ०४६ देखि सञ्चालनमा आएको गोकुलेश्वर विमानस्थल ५० सालदेखि पूर्णरुपमा बन्द अवस्थामा छ । उक्त विमानस्थल बन्द भएको ३१ वर्ष भयो । द्वन्द्वकालमा माओवादीले विमानस्थलमा रहेको टावरलगायतका संरचना ध्वस्त बनाएका थिए । अर्थ मन्त्रालयले ०७७ साल माघमा सो विमानस्थलका लागि बजेटको सुनिश्चितता गरेपछि हाल उक्त विमानस्थलको पुनर्निर्माण कार्य भइरहेको छ ।
०३० देखि हवाई सेवा सुरु भएको महेन्द्रनगर विमानस्थल सशस्त्र द्वन्द्वका बेला ०५६ मा सुरक्षाको कारण बन्द गरिएको थियो । लामो समयदेखि विमानस्थल निर्माणका लागि आन्दोलनपछि स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको साझेदारीमा ०७८ देखि उक्त विमानस्थलको पनि पुनर्निर्माण कार्य चलिरहेको छ । विमानस्थलको पुनर्निर्माणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले १५, दोधारा चाँदनीले १०, सुदूरपश्चिम प्रदेश सरकारले २५ र संघीय सरकारले ५० प्रतिशत रकम व्यहोर्ने सहमति गरेका छन् । ०८१ माघमा समय सकिएपछि एक वर्ष अवधि म्याद थप गरिएको छ । पहाडी जिल्लाहरुमा सेवा सञ्चालन गर्दै आएको समिट एयरका धनगढीस्थित प्रतिनिधि आभास शाहले सेवा सञ्चालन हुँदै आएका बझाङ र अछामको सेड्युल कायम राखिएको बताए । ‘जहाजको अभावले हो । निकट भविष्यमै नियमित गर्छौ,’ शाहले भने
कर्णालीमा कष्ट
झण्डै ३ महिनादेखि सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा उडान भर्दै आएको तारा एयरले उडान बन्द गरेको छ । पुस पहिलो साताबाट तीनवटै विमानस्थलमा सातामा दुईपटक आन्तरिक उडान भर्दै आएको जहाज बन्द भएपछि कर्णालीवासीलाई फेरि नेपालगन्ज गएर जहाज चढ्नुपर्ने बाध्यता भएको हो । यात्रु नपाइएको र महँगी थेग्न नसकेको भन्दै उसले उडान रोकेको हो । यसअघिका सरकारले पनि आन्तरिक उडानलाई प्राथमिकता दिँदै आएका थिए । आन्तरिक उडानको विषय अहिलेसम्मका सबै वार्षिक नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । अहिलेसम्म भएका सबै मुख्यमन्त्रीहरुले पनि यसलाई प्रतिष्ठाको विषय बनाएका थिए । ‘नयाँ मुख्यमन्त्री आएपछि बढीमा १र२ हप्ता आन्तरिक उडान सुरु हुन्छ, फेरि बन्द हुन्छ,’ नागरिक अगुवा नरेन्द्र केसीले भने, ‘जनतालाई सुविधा दिनेभन्दा पनि सरकारले चर्चामा आउन मात्र आन्तरिक उडानको काम गर्दा अब फेरि हिमाली जिल्ला जान लुम्बिनी प्रदेशको नेपालगन्ज जानुपर्ने भयो ।’ आन्तरिक उडानलाई झण्डै ६ वर्षपछि आन्तरिक इन्धन र हवाई शुल्कमा सहुलियतको अविलम्ब व्यवस्था गर्नुपर्ने बताए । प्रदेश सरकारले हवाई सेवामा प्रदान गर्ने भनिएको सहुलियत कार्यविधि नबन्दा अघि बढ्न नसकेको उनले बताए ।
यसअघि पनि कर्णालीमा आन्तरिक उडान हुँदै र रोकिँदै गरेको थियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले सुर्खेतबाट हुम्ला, जुम्ला, डोल्पा र मुगुमा उडान नभर्दासम्म आन्तरिक उडानले निरन्तरता नपाउने देखिएको उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदम शाहीले बताए । ‘निजी जहाजले त फाइदा मात्रै हेर्ने हुन,’ उनले भने, ‘यसमा प्रदेश सरकारले पनि केही सहुलियत दिन जरुरी छ, यहाँबाटै आन्तरिक उडान भए व्यापार व्यवसाय फस्टाउँथ्यो, अनावश्यक झन्झट र महँगीको मार घट्थ्यो ।’
झण्डै ३ महिना आन्तरिक उडान सञ्चालन गरेको हिमाली टुर एण्ड ट्राभल्स निर्देशक मिनबहादुर रावलले खर्च थेग्न नसक्दा उडान बन्द गर्नुपरेको बताए । उनका अनुसार प्रतिउडान जुम्ला र मुगुमा १ लाख ७५ हजार र हुम्लामा २ लाख ७५ हजार रुपैयाँ खर्च आउने गरेको थियो । ‘हामीले नेपालगन्जभन्दा सस्तो दरमा यात्रु उडाइरहेका थियौं,’ यात्रु नभएपछि धेरै उडानमा त्यो रकम हामीले तिर्नुपर्यो, सँधै ठूलो रकम तिर्नसक्ने अवस्था भएन ।’ उनका अनुसार सुर्खेत–सिमकोट–सुर्खेत ८ हजार, सुर्खेत–मुगु–सुर्खेत ६ हजार ५ सय र सुर्खेत–जुम्ला–सुर्खेत ५ हजार ५ सय रुपैयाँ भाडादर तोकिएको छ । उनले नेपालगन्जभन्दा झण्डै एक हजार रुपैयाँ कम भाडादर सुर्खेतका लागि कायम गरिएको जानकारी दिए ।
कर्णाली सरकारले चालु आर्थिक वर्षमा सुर्खेतबाट हिमाली जिल्लामा उडान भर्ने एयरलाइन्सलाई इन्धनमा सहुलियत दिन झण्डै १ करोड रुपैयाँ विनियोजन गरेको छ । तर आवश्यक कार्यविधि पारित नहुँदा समस्या भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले बताए । उनका अनुसार मन्त्रालयले कार्यविधि निर्माण गरी आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाएको छ ।
कर्णालीका हिमाली जिल्लाहरु हुम्ला, डोल्पा, मुगु र जुम्लामा सडक जीर्ण र जोखिमपूर्ण हुँदा अहिले पनि जहाजकै भर छ । सुर्खेत–जुम्ला जोडिएको कर्णाली राजमार्ग ‘सिंगल लेन’ को हुँदा स्थानीयलाई जहाजकै भर पर्नुपरेको नागरिक अगुवा दुर्गाप्रसाद सापकोटा बताउँछन् । ‘सामान्य पानी परे पनि गाडी नरोकिएको र हिलोले गाडी नफसेको दिनै हुँदैन, जसका कारण एउटा गाडी रोकिए घण्टौं जाम हुने समस्या छ,’ उनले भने, ‘त्यसमा पनि ५ वर्षअघि गरिएको राजमार्गको कालोपत्रे पुरै उप्किएपछि हिउँदको समयमा पनि धुलाम्मे यात्राले यात्रुहरु सास्ती भोग्न बाध्य छौं ।’ अर्को हिमाली जिल्ला कालिकोटमा विमानस्थल भए पनि उडान लामो समयदेखि ठप्प छ । दैलेख, जाजरकोट, सल्यान र दैलेखमा भने विमानस्थल छैन भने रुकुम पश्चिममा चौरजहारी र सल्ले गरी २ विमानस्थल भए पनि चौरजहारीमा भने लामो समयदेखि उडान हुन सकेको छैन । कर्णालीका हिमाली जिल्लाहरुमा उडान गर्न निजी जहाज कम्पनीहरुले नेपालगन्जमा २र२ वटा जहाज राखेका छन् । प्रदेश राजधानी सुर्खेतबाट भने कार्गो उडान मात्र हुने गरेको छ ।
यात्रुहरु भने जहाज नहुँदा सास्ती भोगिरहेको बताउँछन् । ‘न सडक गतिलो छ न प्लेन नै आउँछ,’ मुगुको गमगढीका रत्नबहादुर शाहीले भने, ‘कोही जटिल बिरामी भए भने ज्यान गुमाउनुको विकल्पै छैन ।’ उनका अनुसार २०६९ सालमा कर्णाली–राजमार्गअन्तर्गत उक्त सडकको ट्रयाक खोलेर नेपाली सेनाले सरकारलाई हस्तान्तरण गरेको थियो । झण्डै ९४ किलोमिटर लामो नाग्मा–गमगढी सडक कालोपत्रे नहुँदा वर्षेनि जीर्ण बन्दै गइरहेको उनको भनाइ छ । जसका कारण कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल आउने पर्यटकहरु पनि जोखिम मोलेर यात्रा गर्न बाध्य भएको उनी बताउँछन् । सडकमा दुर्घटना हुँदा २ वर्षको अवधिमा ४० जनाले ज्यान गुमाइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ ।
कर्णालीमा अझै पनि गर्भवती र सुत्केरी उद्दारका लागि हेलिकोप्टर ‘रेस्क्यू’ कै भर छ । एक वर्षको अवधिमा कर्णालीका विभिन्न जिल्लाबाट २२ जना गर्भवती र सुत्केरी महिलालाई उद्दार गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक छ । निर्देशनालयका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती र सुत्केरी महिलाको उद्दार भइरहेको हो । ‘अकालमै ज्यान गुमाउने अवस्थामा पुगेका विकट ठाउँका गर्भवती र सुत्केरी महिलालाई तुरुन्तै उद्दार गरिने भएकाले यो कार्यक्रम ज्यादै प्रभावकारी भएको छ,’ सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विर्षबहादुर शाहीले भने, ‘उद्दार गरिएका सबैजसो महिलाहरु सबैको ज्यान बचाउन सफल भएका छौं ।’ आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले पर्यटन मन्त्रालयबाट आएको कार्यविधि छिटो स्वीकृत गरी हवाइ इन्धनमा सहुलियत दिएर आन्तरिक उडान सुचारु गरिने बताए ।कान्तिपुरबाट