धनगढी – ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ चैतको अन्तिम साता हुने भएको छ । यसअघि चैत ७ गते हुने भनिएको अवार्ड प्राविधिक कारणले दुई साता पछाडि सार्ने निर्णय भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।
मञ्चले आठ विधामा अवार्ड प्रदान गर्दै आएको छ । त्यसमध्ये सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ । वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन् । यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन् । सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन् । अब वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन् । अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल र बिवाइडी मोटरले पनि प्रायोजकका रुपमा साथ दिएका छन् ।