कञ्चनपुर — भीमदत्त नगरपालिका–११ भुजेलामा मेरो बसोबास छ । ५५ वर्षको भएँ । कुनै दिन थकाइ लाग्यो भन्न पाएको छैन । हरेक दिन बिहान ९–१० बजे पुरानो साइकल चढेर महेन्द्रनगर बजार पुग्छु । दिनभरि मदन चोकमा बसेर जुत्ता–चप्पल सिउने काम गर्छु । साँझपख घर फर्किन्छु । मैले यो काम सुरु गर्ने बेला महेन्द्रनगर बजारको केन्द्र मदन चोकमा कतै पक्की त कतै कच्ची सडक थियो । त्यही बेलादेखि मदन चोकमा बसेर यस्तो काम गर्न थालेको हुँ । पहिले त सडक छेउमा मोचीहरूका लागि बस्न भनेर छाप्रो बनाइएको थियो । अहिले छाप्रो भत्काएपछि ओत लाग्ने ठाउँसम्म छैन । चर्को घाम र पानी परेका बेला धेरै समस्या हुन्छ ।
यो काम गर्न थालेको २० वर्ष भइसक्यो । त्यसैले मेरो काम निश्चित भए पनि दिनभरि जुत्ता–चप्पल सिएर यत्ति नै कमाइ हुन्छ भन्ने यकिन हुँदैन । त्यही दिनमा सरदर दुईरतीन सयसम्म आम्दानी हुन्छ । कहिलेकाहीँ २०/३० रुपैयाँ कमाइ भएका बेला निराश बनेर घर फर्किनुपर्छ । चोकमा आएपछि साथीहरूसित गफै गरेर भए पनि दिन कट्ने गर्छ । धेरथोर आम्दानीले घरखर्च चलाउन सजिलो भएको छ ।
ठेगानको जागिरजस्तो नभए पनि यही कामको भरमा श्रीमान्, श्रीमती र पाँच छोराछोरीका लागि दुई छाक खाना र नाना पुर्याइरहेको छु । सामान्य लेखपढ गरेका दुई छोरा र एक छोरी बेरोजगार छन् । यत्तिकै घरमा बसेका छन् । एक छोरी र एक छोरा भने सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा स्नातक तहअन्तर्गत पहिलो वर्षको प्रथम सेमेस्टरमा अध्ययन गरिरहेका छन् । छोराछोरीका लागि महिनामा ८र१० हजार शुल्कदेखि किताब, कापी र कलममा खर्च चाहिन्छ । हामीजस्ताका लागि सन्तान पढाउनु पनि सजिलो छैन । फेरि आफ्नो कमाइ नभएपछि रोजेको ठाउँमा ढुक्कसित पढाउन पनि सकिन्न । अहिलेको जमानामा छोराछोरीलाई शिक्षित तुल्याउनुपर्छ भनेर ऋणधन गरेरै भए पनि पढाइरहेको छु । बर्सेनि ऋण थप्दा थप्दै तिर्न नसकिने भइसक्यो । मेरो मात्र कमाइले नुन, तेल, साग, तरकारी र कहिलेकाहीँ छोराछोरीको कापी–किताबको खर्च जुटाउनै धौधौ हुन्छ ।
अहिले त २५ किलो चामलको मूल्य पनि २५ सय हाराहारी पुगिसक्यो । एकछाक हरियोपरियो तरकारी खान पनि सयरडेढ सय रुपैयाँ नभइ हुँदैन । साताभरि काम गरेर कुखुराको एक किलो मासु खान पनि ४र५ सय रुपैयाँ चाहिन्छ । नुनकै पोकाको २५ रुपैयाँ पुग्यो । नयाँ लुगा किन्ने कुनै तालिका छैन । सके दसैंका बेला फेर्ने हो, नत्र पुरानै लुगाले काम चलाउने हो । कहिलेकाहीँ लाज छोप्न टालेर पनि गुजारा चलाउँछु । थोरै जमिन भएकाले वर्षभरि धान र गहुँ किन्नु पर्दैन ।
जुत्ता–चप्पल सिलाउने काम गर्नुभन्दा अगाडि भारत गएर होटलमा भाँडा माझ्थेँ । त्यहाँ पनि राम्रो आम्दानी नभएपछि घरमै बसेर यही काम गर्न थालेँ । मैले समय मिले छालाका राम्रा जुत्ता पनि बनाउन सक्छु । तर त्यसका लागि लगानी चाहिन्छ । अहिने परिवारको दैनिक खर्चसमेत जुटाउन सक्ने अवस्था छैन । कहाँबाट लगानी जुटाउने ? अलिकति पैसा भयो भने कतै कोठा भाडामा लिएर छालाको जुत्ता बनाउन सुरु गर्ने थिएँ । त्यसमा बेरोजगार बसेका छोराहरूलाई पनि जोड्थेँ । त्यसपछि परिवारको आम्दानी बढ्थ्यो । मेरो सीप पनि काम लाग्ने थियो । तर अहिले यो सपनामात्रै भएको छ । यो कुरा सोच्दा सोच्दै बुढो भइसकेको छु ।
अहिले पनि हामी बस्ने सडक किनारमा बसोबासका लागि उचित व्यवस्था भइदिए राम्रो हुन्थ्यो । धेरै घाम लागे छाताको साहारा लिनुपर्छ । पानी परे पनि त्यस्तै छ । बर्खामा त बस्ने ठाउँ नभएर काम गर्नै गाह्रो हुन्छ । सरकारले हाम्रो बसोबासका लागि उचित व्यवस्था गरिदिए राम्रो हुन्थ्यो ।कान्तिपुरबाट