धनगढी । कैलालीको गोदावरी नगरपालिका – ८ की अरुणा कुमारी चौधरीले घरमै नागरिकता पाएकी छिन । मंगलबार शारीरिक अपाङ्गता भएकी अरुणालाई प्रमुख जिल्ला अधिकारी सहितको टोलीले घरमै पुगेर नागरिकता दिएको हो ।
३७ वर्षीय अरुणा अपाङ्गता भएका कारण नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय सम्म जान सकेकी थिइनन् । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले अरुणाका बुवाले जिल्लामा आउन नसक्दा नागरिकता बनाउन नसकेको जानकारी गराएपछि घरमै आएर नागरिकता दिएको बताए ।
घरमै नागरिकता पाएपछि अरुणाका बुवा जित बहादुर चौधरीले खुसी व्यक्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले अशक्त व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको बताए ।