काठमाडौँ : माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग सोमबार संवाद गरेका छन् । संवादका क्रममा उनले गणतन्त्रविरूद्ध षड्यन्त्र भइरहेको उल्लेख गर्दै गठबन्धन सरकार जिम्मेवार भइ काम गर्न आग्रह गरेका छन् । अध्यक्ष दाहालको सचिवालय स्रोतका अनुसार उनले सरकारका कारण राजावादी सक्रिय भएकाले प्रतिपक्ष दलका माग सम्बोधन गर्न आग्रह गरेका छन् । ओली र देउवासँग प्रत्यक्ष, अप्रत्यक्ष संवाद गरी आवश्यक परे गणतन्त्रवादीहरु एक भएर जानुपर्ने उनले बताएका थिए ।
उक्त संवादका क्रममा प्रधानमन्त्री ओली र देउवाले सरकार परिणाममुखी काम निकाल्न प्रतिबद्ध भएको बताएका थिए । दाहालका प्रमुख स्वकीय सचीव गोविन्द आचार्यका अनुसार अध्यक्ष दाहालले संविधानको रक्षा, अग्रगमनका लागि माओवादी नेतृत्व गर्न तयार रहेको सन्देशका लागि संवाद सुरु गरेको बताए ।