चैनपुर: बझाङमा रेबिजविरुद्धको खोप (एआरभी) अभावका कारण कुकुर तथा अन्य जनावरको टोकाइबाट घाइते भएका बिरामीहरू उपचार नपाएर घर फर्किन बाध्य भएका छन् । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीले समयमा खोप उपलब्ध गराउन नसक्दा जिल्लावासी स्वास्थ्य सङ्कटमा परेका हुन् ।
छविसपाथिभेरा गाउँपालिका–६ माटेसाङ्गुकी ८ वर्षीय प्रमिका सिंहलाई आइतबार घरपालुवा कुकुरले टोकेको थियो । बहुला कुकुरले टोकेको आशङ्कामा रेबिज खोप लगाउनुपर्ने भए पनि रात परिसकेका कारण तत्काल अस्पताल लैजान सकिएको थिएन । प्रमिकाका बुबा भुवन सिंहका अनुसार सोमबार बिहानै छोरीलाई जिल्ला अस्पताल पुर्याइए पनि खोप अभावका कारण उपचार सम्भव भएन ।
“अस्पताल प्रशासनले ‘रेबिजको खोप छैन, सकिएको धेरै भयो’ भन्दै हामीलाई फर्काइदियो,” सिंहले गुनासो गरे । खोप अभावबारे प्रमुख जिल्ला अधिकारी (सिडिओ) ओमप्रसाद भट्टसँग भेटेर जानकारी गराउन खोज्दा सुरक्षाकर्मीहरूले भित्र जानै नदिएको उनको आरोप छ । सअघि पत्रकार उत्तमकुमार थापाका तीन वर्षीय छोरालाई पनि कुकुरले टोकेको थियो । तर जिल्ला अस्पतालमा खोप उपलब्ध नभएकै कारण उहाँ पनि छोरालाई उपचार गराउन नसकी फर्किन बाध्य भए ।