धनगढी । सुदूरपश्चिम प्रदेशको तराईवासी रानाथारू समुदायमा होरी पर्वको रौनक सुरु भएको छ । एक महिना आठ दिनसम्म चल्ने होरी पर्वमा अहिले रानाथारू समुदायका मानिसले जिन्दा होरी मनाइरहेका छन् । जिन्दा होरीमा रातिको समय ढोल तालमा सामूहिक रूपमा होरी नाच नाचेर रमाउने चलन रहेको छ । माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म जिन्दा होरी खेलेर रमाउने गरेको नारायण रानाले बताए । ।
उनका अनुसार होली पर्वको होलिका दहन नगरुन्जेलसम्म रानाथारू समुदायका बुढापाका, युवकयुवती मिलेर राति जिन्दा होरी नाच नाच्ने र रमाउने गर्दछन् । अहिले विभिन्न गाउँमा हरेक रात जिन्दा होरी नाच देखाउने काम भइरहेको छ ।
होरी रानाथारू समुदायको सबैभन्दा ठुलो पर्व हो । जिन्दा र मरी गरेर दुई चरणमा होरी पर्व मनाउने गरिन्छ । नेपाल रानाथारू समाजका पूर्वकेन्द्रीय अध्यक्ष जीवन रानाका अनुसार होलिका दहनपछि रानाथारू समुदायमा मरी होरी सुरु हुन्छ । मरी होरी आठ दिनसम्म मनाउने चलन छ । मरी होरी अवधिभर मौलिक पहिरन लगाएर दिउँसो होरी नाच नाचेर रमाउने गरेको रानाको भनाइ छ ।
मरी होरीको अन्तिम दिनलाई खख्डेहरा भन्ने गरिन्छ । गाउँका मानिसले बिहानै खख्डेहरा फुटाएपछि एक महिना आठ दिनसम्म मनाइने होरीको विधिवत् रूपले समापन हुन्छ । खख्डेहरा फुटाएको दिन आफन्त, मित, मितिनी, इष्टमित्रलाई बोलाएर हट्कना ९मिठा मिठा खानाको परिकार० खुवाउने चलन रहेको छ । खख्डेहरा रानाथारू होरीको सबैभन्दा महत्वपूर्ण दिन हो । यस दिन प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ ।
खख्डेहरा फुटाएर होरी पर्वको समापन गरिए पनि होरी सेलाउने कार्य भने चराइँमा हुने गरेको छ । चैत महिनामा चराइँ पर्व मनाएपछि बल्ल होरी सकिने गरेको रानाको भनाइ छ । यो समुदायका मानिसले असत्यमाथि सत्यको जित भएको खुसियालीमा नाच्दै, रमाउँदै होरी पर्व मनाउने गरेको बताइएको छ ।