डोटी । शनिवार नेपाल सरकारका गृहमन्त्री रमेश लेखक डोटीमा देखिए । भूकम्पीय पुनर्निर्माण तथा पुनः स्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा उनी डोटीमा देखिएका हुन् । सो क्रममा नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले अहिले मुख्यतया चार विषयले सुरक्षा चुनौती थपेको बताए । ‘मैले गृहमन्त्री भइसकेपछि बटुलेको अनुभवमा अहिले चार प्रमुख समस्या देखेको छु’ लेखकले भने ‘पहिलो लागु औषध, दोस्रो सवारी दुर्घटना, तेस्रो आत्महत्या र चौथो साइबर अपराध ।’ उनले यी मध्ये पनि सबैभन्दा बढी लागु औषधको समस्या रहेको बताए । अन्य तीन समस्याको जरिया पनि लागु औषध नै भएको उनको भनाई छ ।
‘मान्छेले लागु औषध सेवन गर्छ, यसले उसको मस्तिष्कमा नकारात्मक असर गर्दै जान्छ, त्यसपछि उ अनेक कुरा सोच्न थाल्छ’ गृहमन्त्री लेखकले भने ‘यसबाट उसमा आपराधिक मानसिकता पलाउने गरेको हुन्छ ।’ लागु औषध नियन्त्रण राज्यका लागि ठुलो चुनौतीको विषय भएको उनी बताउँछन् । लागु औषधकै कारण चोरी लगायत अन्य अपराध भइरहेको पनि उनले बताए ।
गत असार ३१ गते गृहमन्त्रीको जिम्मेवारी पाएको लेखकले आफूले गृहमन्त्री भइसकेपछि गरेको अध्ययनबाट आत्महत्या पनि अर्को ठुलो चुनौतीको विषय रहेको पाएको बताए । ‘हाम्रो देशमा प्रत्येक दिन औसतमा १७ जनाले आत्महत्या गर्दा रहेछन्’ उनले भने ‘लागु औषधकै कारण कतिपय आत्महत्याको तहमा पुग्दा रहेछन् ।’ गृहमन्त्री लेखकले देखेको अर्को ठुलो समस्या सवारी दुर्घटनाको हो । उनले सवारी दुर्घटनाका कारण औसतमा प्रत्येक दिन सात जनाले ज्यान गुमाउनु परेको बताए । सार्वजनिक सवारी व्यवस्थापनका लागि सबै सरोकारवालाहरूले संयुक्त प्रयास गर्नु पर्ने उनको भनाई छ ।
‘सार्वजनिक यातायातको व्यवस्थापनमा ट्राफिक प्रहरी छ, त्यसैले गृह मन्त्रालयको पनि जिम्मेवारी छ’ लेखकले भने ‘यसमा भौतिक पूर्वाधार मन्त्रालयले सडकको स्तरोन्नति गर्ने र यातायात व्यवस्था मन्त्रालयले यसको व्यवस्थापन गर्नु पर्ने हुन्छ ।’ प्रदेश सरकारले पनि सार्वजनिक यातायातको व्यवस्थापनमा भूमिका खेल्नु पर्ने गृहमन्त्री लेखकको भनाई छ । सवारी दुर्घटनाको जरिया पनि लागु औषध नै भएको देख्छन् गृहमन्त्री लेखक । लागु औषध सेवन गरेर सवारी चलाउने गर्दा दुर्घटना हुने गरेको छ ।
अहिलेको अर्को जल्दोबल्दो समस्या साइबर अपराधको रहेको उनी बताउँछन् । ‘लागु औषध सेवन गर्छन्, सामाजिक सञ्जालमा जथाभावी लेख्छन्’ लेखकले भने ‘त्यही कुरा साइबर अपराध भइदिन्छ ।’नेपालप्रेसबाट