धनगढी । अछाममा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । सोमबार दिउँसो मंगलसेन नगरपालिका–९ ओली गाउँ रातोमाटेमा माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर दुई महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अछामका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) ईश्वरी भण्डारीले माटोको ढिस्कोमा पुरिएर मंगलसेन नगरपालिका–८ सुतुडाबाडी बस्ने २७ वर्षीया देउरुपा बोहरा र २३ वर्षीया विनीता बोहराको मृत्यु भएको जानकारी दिए ।
उनकाअनुसार चैते दशैंका लागि रातो माटो खन्न गएका दुवै जना माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएका थिए । दुवै जनालाई ढिस्कोबाट मृत अवस्थामा निकालिएको प्रहरीले जनाएको छ । दुवै जना नातामा देउरानी जेठानी भएको खुलेको छ ।