धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश सम्मेलनमा बोल्ने कांग्रेसका नेताहरुले सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा आएर गुणगान गाएर प्रशंसा मात्र गरेका छन् । धनगढीमा सोमबार आयोजना गरिएको उक्त कार्यक्रममा बोल्ने नेपाली कांग्रेसका शिर्ष नेताहरु लगायत २३ जनाले सभापति देउवाको गुणगान गाएर भाषण गरेका छन् । महामन्त्री थापाले पार्टीको भावी योजनाका बारेमा बोलेपनि अन्य नेताहरुले गुनगान मात्रै गाए ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवा असम्भवलाई सम्भवमा बदल्ने एक मात्र नेतृत्व भएको प्रशंसा गरे । उनले नेपली राजनितीमा देउवाको भुमिका अहम रहेको बताए । महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवाले राष्ट्रिय राजनीतिमा गम्भिरताका साथ नेतृत्वदायी भूमिका खेलेको बताए ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सभापति देउवाको वरिपरि नै मुलुकको राजनीति घुमिरहेको बताए । अर्का सहमहामन्त्री भिष्मराज आङबम्बेले सभापति देउवा नेपालको राजनीतिमा रोलमोडल भएको जिकिर गरे । यस्तै सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले शेरबहादुर देउवा विपीका सबैभन्दा विश्वासिला पात्र भएको बताइन् । उनले सुदूरपश्चिम पहिलो पटक आउँदा डडेल्धुरासम्म पीच सडकको यात्रा गरेको समेत भन्न भ्याइन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सम्बोधनका क्रममा नै देउवा सिंगो नेपाली कांग्रेसका अभिभावक भएको बताए । उनले एमाले र माओवादी पार्टीको पनि देउवाले अभिभावकको भूमिका निर्वाह गर्दै आएको दाबी गरे । सभापति देउवाले सुदूरपश्चिमको समग्र विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको पुर्व उप सभापति गोपालमान श्रेष्ठले गुणगान गरेका छन् ।
सम्मेलनमा बोल्ने कांग्रेस नेता सशांक कोइराला लगायत २३ जनाले सभापति देउवाको गुणगान गाएर भाषण गरेक थिए । तर नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसमा अन्धकार भन्ने रोग लागेको बताएका छन् । शेरबहादुर देउवाले कांग्रेसमा लागेको अन्धकार भन्ने रोगलाई सदाका लागि निर्मूल पार्न आवश्यक रहेको बताए । उनले पार्टीमा लडाइ हुन्छ । भोट हाल्दा खेरी एक भएर कांग्रेसमै भोट हाल्न सकेको भए पार्टी अगाडि बढ्ने थियो । यसको सुरुवात सुदूरपश्चिमबाटै हुनुपर्छ ।
।