कैलाली । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्ण सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ज्ञानेन्द्रलाई आफूले नै नारायणहिटीबाट बिदा गरेकाले अहिले आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका हुन् । उनले सरकारले नै निर्णय गरेर नागार्जुन पठाएको भन्दै चाहेका बेला त्यहाँबाट पनि निकाल्न सक्ने चेतावनी दिए ।
‘राजाबारे अलिअलि चर्चा हुन्छ मैले भन्ने गरेको छु, किन धेरै चर्चा गर्नु हामीले, म आफै बिदा गर्न गएको हुँ, राम्रै सम्झाएको हुँ’, सिटौलाले भने, ‘सरकारको निर्णयले नागार्जुन निवास उहाँलाई तत्काल बस्न दिएको हो । सरकारले चाहे अहिले हटाइदिन सक्छ । सरकारले नै सुरक्षाको बन्दोबस्त गरेको छ । त्यसैले योबारेमा धेरै चर्चा गर्नु उपयुक्त होइन ।’ आइतबार काठमाडौंमा पूर्वराजाको पक्षमा देखिएको भीडलाई सङ्केत गर्दै उनले भने, ‘१५-२० हजार मान्छे सडकमा आउनु कुनै ठूलो कुरो होइन । धेरै चर्चा गरेर हामी आत्तिनुपर्दैन ।’
पार्टी र सरकारको बीचमा राम्रो सहकार्य हुनु आवश्यक रहेको उनको भनाइ थियो । संविधान संशोधन गर्न कांग्रेस तयार रहेको भन्दै नेता सिटौलाले संविधान संशोधन गरेर भए पनि जनतालाई सहज हुनुपर्ने बताए । संविधान कार्यान्वयनका विषयमा समीक्षा गर्ने बेला आएको सिटौलाको भनाइ थियो । जनताको आशा र भरोषा कांग्रेसप्रति रहेको भन्दै उनले एमाले(कांग्रेसको सहकार्यलाई जोगाउनुपर्नेमा जोड दिए ।
केपी ओली प्रधानमन्त्री भए पनि नीतिगत नेतृत्व नेपाली कांग्रेसको रहेको उनको भनाइ छ । ‘काङ्ग्रेसकै सहारामा सरकार रहेको छ’, सिटौलाले भने, ‘अहिले बनेको कांग्रेस-एमालेको समझदारी जोगाउनुपर्छ । पछि यो पार्टीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।’