धनगढी । बाजुरामा कर्णाली नदीमा माछा मार्न जाने क्रममा एक जनाको भीरबाट खसेर मृत्युु भएको छ । आइतबार साँझ कर्णालीमा माछा मार्न गएका स्वामीकार्तिक खापर गाउँपालिका-२ फयल गाउँका अन्दाजी ४० वर्षीय पुसे भण्डारीको भीरबाट खसेर मृत्युु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले भीरबाट खसेका भण्डारीको घटनास्थलमै मृत्युु भएको जानकारी दिए । उनकाअनुसार भीरबाट कर्णाली नदीको किनारमा खसेका भण्डारीको मृत्यु भएपनि शव भएको ठाउँसम्म प्रहरी पुग्न सकेको छैन् । अहिले प्रहरी चौकी जुद्दी र इलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी निरीक्षक लोकराज अवस्थी नेतृत्वको टोली घटना भएको ठाउँसम्म पुगेको छ ।
मृतकको शव नदीको पारीपट्टी भएकाले कर्णाली तर्न सक्ने अवस्था छैन् । भण्डारीको शव भएको ठाउँसम्म पुग्न बोट वा ट्युबको व्यवस्थापन गर्ने प्रयास भइरहेको छ ।