काठमाडौँ । राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले शिक्षकका समस्या आपसी संवाद र वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद मिश्रले शिक्षकहरूलाई लामो समय सडकमा छोड्नु उचित नहुने भन्दै उनीहरूका माग पूरा गर्न सरकार सक्रिय हुनुपर्ने बताए । उनले तत्कालीन समस्या समाधान गर्न सहमति गर्ने तर ऐन र नियममा नसमेट्ने सरकारको प्रवृत्तिका कारण शिक्षकहरू आन्दोलनमा उत्रिने गरेको उनको भनाइ छ । उनले भने, ‘देशभरका शिक्षकहरू आन्दोलनमा छन् । संवादको माध्यमबाट उनीहरूको समस्यालाई समाधान गरौँ । धेरै दिन शिक्षकलाई सडकमा नै छोड्नु उचित होइन ।’
सांसद मिश्रले फरक प्रसङ्गमा बोल्दै महिलाहरूको हक र अधिकारको लागि बोल्ने पुरुषको समेत दायित्व भएको बताए ।