टीकापुर: सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले साहित्यले समाजको कथाव्यथा मात्रै नभई नेपालका राजनीतिक क्रान्तिमा योगदान गरेको बताएका छन् । शनिबार टीकापुर साहित्य सम्मेलनको उद्घाटनमा टीकापुरमा बोल्दै मन्त्री खड्काले साहित्य समाजको ऐना भएकाले समाजको यथार्थ बोल्दा त्यसबाट समाज रूपान्तरण हुने बताएका हुन् । टीकापुर योजनाबद्ध सहर हो, एक समय शैक्षिक केन्द्रका रूपमा थियो अब यसलाई साहित्यिक गतिविधिले पुनर्जागरण ल्याउनु पर्छ,” मन्त्री खड्काले भने, “साहित्यिक गतिविधिले मोबाइल आएपछि त्यसैमा झुम्मिने घोप्टेयुगमा प्रवेश गरेका युवा तथा बालबालिकामा पठन संस्कृतिको विकास होस् ।”
सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डाक्टर रणबहादुर रावलले टीकापुरमा भएको साहित्य सम्मेलनले यहाँको खस र थारू भाषा र पहिचानको प्रवर्धन हुने र साहित्यिक यात्रामा युवापुस्ताको सहभागिता बढ्ने अपेक्षा गरे। सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डाक्टर टिएन जोशीले प्रदेशका सबै जिल्लामा साहित्य र संस्कृतिको प्रसार गरिने बताए ।
आयोजक संस्था टीकापुर साहित्य समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता महेशविक्रम शाहले रङहरूको मौसम फागुनमा देशभर नौ वटा साहित्यिक सम्मेलन भइरहेका र साहित्य पनि ग्ल्यामर क्षेत्रका रूपमा विकास भइरहेको बताए । उनले देशका मूर्धन्य साहित्यकारहरूको उपस्थितिमा भइरहेको टीकापुर साहित्य महोत्सवको ‘ब्रान्ड भ्याल्यु’ बढेको र पाँचौँ संस्करणसम्म पुग्दा अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउने बताए ।