धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबार सुदूरपश्चिम प्रदेश सभालाई विशेष सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीले दिनको १ बजे बस्ने प्रदेश सभालाई सम्बोधन गर्नुहुने प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्नु यस प्रदेशका लागि ठुलो अवसर रहेको प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए ।
शनिबार बसेको प्रदेश सभा बैठकमा ढ्यापढ्यापे समय माग गरेर उनले प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेबारे सदनलाई जानकारी गराएका थिए । ठुलो लगानीमा गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि बनेको संरचना अलपत्र रहेको अवस्थामा प्रधानमन्त्री ओलीको सम्बोधनले ठुलो अर्थ राख्ने उनको भनाइ थियो । पाठकले प्रदेश सभामा रहेका सम्पूर्ण दललाई एउटा साझा धारणा बनाएर प्रधानमन्त्रीलाई बुझाउनका लागि आग्रहसमेत गरे ।
“सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो, “यो विधेयकलाई चाँडै पारित गर्न दबाब दिनका लागि हामी सबैले एउटा साझा धारणा बनाएर संकल्प प्रस्ताव पारित गरौँ ।”