धनगढी । गृह मन्त्री रमेश लेखक भूकम्प प्रभावितका घर पुनर्निर्माण गर्ने गरी आयोजना कार्यालय स्थापना गर्न बैतडी हुँदै बझाङ पुगेका छन् । जिल्ला भूकम्पीय पुार्निर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन एकाइको उद्घाटन गर्न गृहमन्त्री लेखक शुक्रबार बैतडीको खोड्पे हुँदै बझाङ पुगेका हुन् ।
बझाङ केन्द्रविन्दु भएर गत वर्ष असोज १६ र २० गते गएको भूकम्पले बझाङमा चार हजार ८५८ घर र बैतडीको सिगासमा दुई वटा घरमा क्षति पुगेको थियो । प्रभावित परिवारलाई सरकारले यस अघि अस्थायी आवासका लागि २१ करोड ५० लाख रुपियाँ राहत उपलब्ध गराइसकेको छ ।
भूकम्पले बझाङमा सात वटा सरकारी कार्यालयसहित चार हजार ८५८ घर, जयपृथ्वी राजमार्ग र केही सहायक सडकमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बझाङका विपद् सम्पर्क व्यक्ति नरबहादुर धामीले बताए ।
दोस्रो चरणमा भूकम्पबाट प्रभावित परिवारलाई पुर्नस्थापना गर्न बझाङको जयपृथ्वी नगरपालिका–९, देवलमा आयोजना कार्यान्वयन एकाइ स्थापना भएको छ । सो आयोजनाको उद्घाटन गर्न गृह मन्त्री लेखक शुक्राबार बैतडीको खोड्पे हुँदै बझाङ आइपुगेको स्वकीय सचिव जनकराज भट्टले जानकारी दिए । ।
भूकम्प प्रभावित क्षेत्रको वस्तुस्थित बुझ्ने क्रममा गृहमन्त्री लेखकले शुक्रबार बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययाय लगायत सुरक्षा प्रमुख र स्थानीयवासीसँग बैतडीको खोड्पेमा छलफल गरे ।
छलफलका क्रममा बैतडीका प्रमुख जिल्ला अधिकारीले खोड्पेमा स्थापना भएको मानवीय सहायता स्थललाई आवश्यक जनशक्ति र उपकरणका बारेमा गृहमन्त्री लेखककलाई जानकारी दिए । विपद्का बेला उद्धार र राहत वितरणका लागि सुदूरपश्चिमका पहाडी जिल्लालाई पायक पर्ने गरी बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा मानवीय सहायता स्थल स्थापना गरिएको छ ।