बाजुरा: बाजुराका अधिकांश गाउँ बस्ती यति बेला परदेशीको परखाइमा छन् । हिउँद लागेसँगै यहाँका अधिकांश युवा युवती भारत गएपछि ती गाउँ बस्ती खाली हुँदै गएका थिए । यहाँका स्थानीयहरू कात्तिक मङ्सिरको महिना हिउँदे खेती गहुँ जौ लगाउने त्यसपछि उनीहरू कामको खोजीमा भारत जाने गर्दछन् ।कामको खोजीमा हिउँदको महिना भारतमा गएका परदेशी अहिले घर नफर्किएपछि यति बेला ती गाउँ बस्ती परदेशीको परखाइमा रहेका हुन् ।
धन कमाउन परदेशिएकाहरु घर नफर्किएपछि गाउँ बस्ती खाली हुँदै गएको बुढीगङ्गा नगरपालिका स्थानीय ज्येष्ठ नागरिक कविता नेपालीले बताए ।उनले भने, “दशैको बेला सबै युवाहरू घरमा आउँदा गाउँ निकै भरिभराउ भएका हुन् । दसैँ सकिएसँगै फेरि ती सबै युवा युवती कामको खोजीमा धमाधम भारत गएपछि अहिले यहाँका गाउँ बस्ती खाली भएका हुन् ।” पढेलेखेका युवा युवतीहरूलाई गाउँमा गरी खाने केही विकल्प नहुँदा उनीहरू रोजगारीका लागि भारतमा जान बाध्य भएका हुन् । यसरी गाउँ छोडेर रोजगारीका लागि भारतमा गएका युवाहरू त्यहाँदेखि फर्किएपछि अहिले यहाँका गाउँ बस्ती उनीहरूको पर्खाइमा रहँदै आएको नेपालीले बताए ।
बाजुराका अधिकांश स्थानीय हिउँद र बर्खाको केही महिना घरमा बस्ने भए पनि त्यसपछि उनीहरू अन्य सबै महिना भारतमै बस्ने गर्दछन् । यहाँका स्थानीयहरूको कात्तिक मङ्सिरमा हिउँदे तथा असारमा बर्खा खेती लगाउन गाउँमा आउने र त्यसपछि फेरि कामको खोजीमा भारतमा जाने प्रचलन छ । नेपालको २०७८ सालको जनगणना अनुसार बाजुरामा २८ हजार ६४ घरधुरी छन् । अहिले यहाँका झन्डै पचास प्रतिशत घर खाली भएका छन् । गाउँमा घरमा यसो हेर्दा यहाँका अधिकांश घरमा ठुला ताल झुन्डिएका छन् ।
त्यसै गरी यहाँको एक लाख ३८ हजार ५२३ जनसङ्ख्या छ । यसको झन्डै आधा प्रतिशतभन्दा बढी सङ्ख्या गाउँदेखि बाहिर बस्दै आएको छ । वसन्त ऋृतु लागेसँगै यहाँका वन पाखा खेतबारी हराभरा तथा पहेँला हुन थालेपछि परदेशी भने स्थानीय अझै गाउँघरमा पुगेका छैनन् । हिउँदे बाली जौ गहुँ पाक्नै लाग्ने अवस्थाका छन् । तर परदेशीहरु भने अझै घरमा फर्किएका छैनन् ।
बाजुराको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह गाउँपालिका लगायतका स्थानीय भोको पेट पान्नकै लागि भारतका विभिन्न ठाउँमा जाने गर्दछन् । उनीहरू भारतमा जान थालेपछि यहाँका गाउँ बस्ती खाली हुँदै गएका हुन् ।गोरखापत्रबाट