धनगढी: यात्रुको जीवनसँग बुद्ध एयरले गम्भीर खेलबाड गरेको छ । बिहीबार ६२ जना यात्रु बोकेको बुद्ध एयरको जहाज एउटा पांग्राविनै जनकपुरबाट काठमाडौं आएको छ । जनकपुरबाट अपराह्न ४;३८ मा काठमाडौंका लागि उडेको बुद्ध एयरको कल साइन ‘(एनएच)’ नम्बरको एटिआर ७२ जहाज काठमाडौंमा सुरक्षित अवतरण गर्यो । तर, उक्त जहाजको अगाडिको एउटा पांग्रा भने जनकपुरमै छुटेको तथ्य बाहिरिएको हो । एउटा नोज ह्विलविनै जहाज उडान र अवतरण गरेपछि नेपालको हवाई सुरक्षा संवेदनशीलताको विषयमा पुनः प्रश्न उठेको छ । उडानअघि र उडान एवं अवतरणका क्रममा पाइलटले नोज ह्विल नभएको थाहा नै नपाउनु आश्चर्यको विषय भएको नेपाल उड्डयन प्राधिकरण (क्यान)का सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताए । उनले भने, ‘एउटा नोज ह्विल नहुँदा अवतरण कसरी गरे, पाइलटलाई नोज ह्विल नभएको विषयमा किन जानकारी भएन भन्ने हामी सोधपुछ गर्छौँ । सबैभन्दा महत्वपूर्ण कुरा जहाज सुरक्षित अवतरण भएर सबै यात्रु सुरक्षित छन् । बाँकी विषयमा अनुसन्धान गर्नेछौँ ।’
प्राधिकरणले उक्त जहाजलाई ग्राउन्डेड गरिसकेको छ । पाइलटले जानकारी नगराएपछि नोज ह्विल ९अगाडिको पांग्रा० नभएको जहाज अवतरणका क्रममा कुनै इमर्जेन्सी घोषणा गरिएको थिएन, सुरक्षाको तयारीसमेत गरिएको थिएन । सो जहाजले एउटा मात्रै नोज ह्विलका भरमा अवतरण गरेको हो । पाइलटले उडानपछिको जाँच ९पोस्ट फ्लाइट चेक०का क्रममा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको रिपोर्ट गरेको प्राधिकरणको भनाइ छ । तर, प्राधिकरणकै एक कर्मचारीले भने बुद्ध एयरकै अर्का पाइलटले जनकपुर एयरपोर्टको रनवेको अन्तिमतिर केही देखिएको जानकारी गराएपछि चेक गर्दा टायर भेटिएको बताए । भेटिएको टायरको विषयमा खोजतलास गर्दा बुद्ध एयरकै काठमाडौं उडेको जहाजको रहेको पत्ता लागेको थियो ।
पाइलटले उडानपछिको जाँच (पोस्ट फ्लाइट चेक) का क्रममा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको रिपोर्ट गरेका थिए । त्यसपछि खोजी गर्दा उक्त टायर जनकपुर एयरपोर्टमा भेटिएको प्राधिकरणका सहायक प्रवक्ता भुलले बताए । ‘जनकपुरबाट पौने पाँच बजेतिर काठमाडौंका लागि उडेको बुद्ध एयरको ९एनएएचएनको जहाज जनकपुरबाट सुरक्षित उड्यो, काठमाडौंमा सुरक्षित अवतरण भइसकेपछि पोस्ट फ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर भेटिएन, त्यसपछि जनकपुर एयरपोर्टमा चेक गराउँदा जनकपुर एयरपोर्टको रनवेको टर्निङमा ल्यान्डिङ गियर भेटियो,’ उनले भने, ‘अहिले यो जहाजलाई ग्राउन्डेड गरेका छौँ । सबै यात्रुहरू सुरक्षित ल्यान्ड हुनुभयो । अहिले नागरिक उड्डयन सुरक्षाअनुसार अनुसन्धान भइरहेको छ, कहाँ–कसरी यस्तो भयो भन्ने कुरा अनुसन्धानका क्रममा छ । काठमाडौंमा जहाज ल्यान्ड गरिसकेपछि पाइलटले रिपोर्ट गर्दा यो घटना थाहा भएको हो,’ उनले भने ।
जनकपुर विमानस्थल प्रमुख टेकबहादुर बुड्थापाले बुद्ध एयरकै पाइलटले रनवेमा केही भएको जानकारी गराएपछि त्यहाँ विमानको पांग्रा भेटिएको बताए । ‘पौने पाँचभन्दा ६ मिनेटअगाडि बुद्धको एउटा जहाज उडेको थियो । साढे पाँच बजे बुद्धकै अर्को जहाज उड्यो, सो जहाजका पाइलटले एयरपोर्टको पश्चिमतर्फको रनवेमा चेक गर्नुहोला मात्रै भने,’ उनले भने, ‘हामीले चेक गर्दा त्यहाँ एउटा नोज ह्विल फेला पर्यो, बुझ्दा त्यो बुद्धकै पौने पाँचमा उडेको जहाजको टायर रहेछ, हामीले माथि रिपोर्ट गरिदियौँ र टायर बुद्धलाई दियौँ ।’
बुद्ध एयरले यस विषयमा सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ । तर, उसले टायर छुटेको विषयमा केही उल्लेख गरेको छैन । ‘बुद्ध एयरले जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाज प्राविधिक समूहलाई हस्तान्तरण गरेको जनाएको छ । ‘जनकपुरबाट काठमाडौं उडान नं ५०६ जहाज ९एनएच काठमाडौंमा सुरक्षित अवतरण गरेको छ । उक्त जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाज टेक्निकल टिमलाई हस्तान्तरण गरिएको छ,’ बुद्ध एयरले भनेको छ ।
क्यानका सहायक प्रवक्ता ज्ञानेन्द्र भुल भन्छन्– एउटा नोज ह्विल नहुँदा अवतरण कसरी गरे, पाइलटलाई नोज ह्विल नभएको विषयमाा किन जानकारी भएन भन्ने हामी सोधपुछ गर्छौँ । सबैभन्दा महत्वपूर्ण कुरा जहाज सुरक्षित अवतरण भएर सबै यात्रु सुरक्षित छन् । बाँकी विषयमा अनुसन्धान गर्नेछौँ ।
भैरहवामा बिग्रिएको निगमको जहाज मर्मतपछि काठमाडौं फर्कियो
काठमाडौं–भैरहवा–दुबईका लागि काठमाडौंबाट उडान गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी भैरहवामा बिग्रिएपछि अलपत्र यात्रु अर्को विमानमार्फत दुबई उडेका छन् । निगमको जहाज भने मर्मतपछि काठमाडौं नै फर्किएको छ । भैरहवा हुँदै दुबई जान बुधबार राति १० बजे काठमाडौंबाट उडेको विमान भैहरवामा अवतरण गरेपछि इन्जिनमा समस्या देखिएको थियो । एक सय ४९ यात्रु सवार विमान ग्राउन्डेड भएपछि यात्रुलाई भैरहवाका विभिन्न होटेलमा राखिएको थियो । बिहीबार दिउँसो तीन बजे निगमको अर्को जहाजमार्फत यात्रुहरू दुबई उडेका छन् । सोही विमानमा आएका इन्जिनियरले भैरहवामा ग्राउन्डेड जहाज मर्मत गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता विनोदसिंह राउतले बताए ।नयाँपत्रिकाबाट