कञ्चनपुर — उनका हात कुनै बेला खाली छैनन् । कतिबेला डब्बामा अचार हालेर तौलिने त कतिबेला पिठो तौलेर ग्राहकलाई दिनमै व्यस्त छन् । महेन्द्रनगरस्थित खुलामञ्चमा सञ्चालन भइरहेको महोत्सवमा जब बिस्तारै भीड बढ्दै जान्छ त्यसपछि बैतडीको दोगडाकेदार गाउँपालिका–७ रिखालीका ४५ वर्षीय टेकबहादुर कार्कीको व्यस्तता पनि बढ्दै जान्छ । उनको परिवार पूरै यसैमा व्यस्त छ ।
कार्कीले उत्पादन गरेको अचार निकै स्वादिष्ट मानेर ग्राहकले खोजीखोजी खरिद गर्छन् । गत वर्षदेखि उनी महोत्सवमा पुग्न थालेका हुन् । गत वर्ष राम्रो व्यापार भएपछि यसपटक पनि आएका हुन् । महोत्सवमा मात्रै होइन उनले उत्पादन गरेको अचार विदेशसम्म पनि पुग्न थालेको छ । विदेशमा रहेका नेपाली आफैं लैजाने गरेको उनी बताउँछन् । ‘अरु बेला त माग अनुसार घर घरै पुर्याइदिन्छु, महोत्सवका बेला स्टल राखेर बिक्री गर्छु,’ कार्कीले भने, ‘महोत्सवमा दिनमा एक क्विन्टलसम्म अचार बिक्री हुन्छ, पिठो पनि राम्रै बिक्री हुन्छ ।’ उनी महेन्द्रनगर, धनगढी र टीकापुरलगायतका महोत्सवमा नियमित रुपमा पुग्ने गरेका छन् ।
कार्कीले अमला, आँप, लसुन, तामा र अकबरे खुर्सानीको अचार बनाउँछन् । यो सबै उनले आफ्नै बारीमा उत्पादन गर्छन् । यति मात्रै होइन यसमा चाहिने मसला पनि बारीमै उत्पादन गर्छन् । टिमुर, दालचिनी, धनिया, बेसार सबै आफैले उत्पादन गर्छन् । जिरा मात्रै बाहिरबाट खरिद गर्छन् । ‘सबै आफ्नै बारीको भएकाले स्वादिष्ट हुन्छ, त्यही भएर एक पटक चाख्ने ग्राहक खोजीखोजी आउँछन्,’ कार्की भन्छन्, ‘अहिले धनगढीमा घर बनाएर त्यहीँबाट कारोबार गरिरहेको छु ।’ उनले अचारसँगै पहाडी भेगमा उत्पादन हुने मकै, कोदो, जौं, फापर, र सिस्नोलगायतको पिठो बिक्री गर्छन् । आफ्नै घरमा सबै सामग्री राख्छन् । कसैले माग गर्यो भने अटोरिक्सामा राखेर घरमै पुर्याइदिन्छन् ।
कार्कीले ग्राहकको माग अनुसार सामान पुर्याउन अटो खरिद गरेका छन् । यसबाहेक छोरीले स्कुटरमा पनि पुर्याइदिने गरेको उनले बताए । वर्षमा ६र७ लाखको अचार मात्रै बिक्री गर्छन् । यसैगरी चार पाँच लाखको विभिन्न खालको पिठो बिक्री गर्छन् । अचार प्रतिकिलो ४ देखि ६ सय तथा पिठो सिस्नोको ५ सय र अन्य प्रतिकिलो सयमा बिक्री गर्छन् । मकै, कोदो, फापर र जौ आफ्नै बारीमा उत्पादन हुन्छ । सिस्नोको पिठो पनि आफ्नै बारीबाट टिपेर हातैले बनाउँछन् ।
कार्कीको घर रिखालीको अग्लो डाँडामा छ । उक्त स्थानमा खानेपानीको निकै समस्या थियो । घर र गाईवस्तुका लागि पानी बोक्नमै दिनभरि लाग्थ्यो । ‘३५ वर्षसम्म पानी बोक्नमै दिन गए, जब पानीको व्यवस्था भयो, त्यसपछि फुर्सद पाइयो र अचार बनाउनेतिर लागे,’ कार्की भन्छन्, ‘सुरुमा अलिअलि उत्पादन गरेर गाउँमै बेच्थे, बिस्तारै उत्पादन बढाउँदै गए अहिले मेला महोत्सवमा पनि पुग्न थालेको छु ।’
स्थानीय तहमा जनप्रतिनिधि आएपछि मात्रै उनको खानेपानीको समस्या समाधान भएको हो । त्यसअघि एउटा घरका लागि धारा लैजान कसैले मानेनन् । कार्की पनि हारा गुहार गर्दा थाकिसकेका थिए । जब खानेपानीको व्यवस्थापन भयो त्यसपछि आफूले विभिन्न किसिमका आम्दानीका उपाय लगाउन थालेको बताए । ‘अब यसपछि भारतको देहरादुनमा पनि महोत्सवमा जाने तयारी गरिरहेको छु,’ कार्की भन्छन् । धनगढीका तारे होटलमा उनकै बारीमा उत्पादन भएका वस्तुको मसला जान्छ ।
पहाडमा उत्पादन भएका सामग्रीबाट बनाइएको अचार, मसला र पिठो बेचेरै उनले धनगढीमा घडेरी किनेर घर निर्माण गरेका छन् । जेठी छोरी अध्ययनका लागि जापान पुगेकी छन् । अन्य दुई छोरी र एक छोरा धनगढीमै अध्ययन गरिरहेका छन् ।