धनगढी: नेपालमै पहिलोपटक धनगढीमा ग्रासरुट फुटबल सुरु भएको छ। धनगढी उपमहानगरपालिकाको आयोजना तथा नेपाल फुटबल सङ्घ एन्फा कैलालीको सहकार्यमा ग्रासरुट फुटबल कार्यक्रम सुरु गरिएको हो।
धनगढी उपमहानगरपालिका ११ बेलामारहेको बहिरा आवासीय विद्यालयबाट बुधवार ग्रासरुट कार्यक्रमको सुरुवात गरिएको हो। वडा नम्बर ११ कै ठेकराज माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई समेत मध्यनजर गर्दै बहिरा आवासीय विद्यालयमा ग्रासरुट फुटबल सुरू गरिएको उपमहानगरले जनाएको छ।
बुधवार आयोजित कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ एन्फाका ग्रासरुट संयोजक पंकज शाहीले नेपालमै पहिलोपटक धनगढी उपमहानगरपालिकाले यो कार्यक्रमको सुरुवात गरेको बताएका छन्। उनले यो अभियानले बालबालिकाहरूको खेल क्षेत्रको विकास हुने बताएका छन्।
धनगढी उपमहानगरपालिकाको एक वडा एक खेलमैदान कार्यक्रम अन्तर्गत ग्रासरुट फुटबल सुरु गरिएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र खातीले जानकारी दिएका छन्। यो कार्यक्रम ठेकराज माध्यमीक विद्यालयलाई नमुना विद्यालय बनाउन पनि सहयोग पुग्ने उनले बताएका छन्। यस्तै धनगढीका अन्य ५ वटा ठाउँमा पनि ग्रासरुट्स क्रीकेट सुरु गरिने उनले बताएका छन्।उनले फुटबल र क्रिकेटको विकासका लागि धनगढी उपमहानगरपालिकाले विज्ञ टोलीसँगको सहकार्यमा ग्रासरुट अभियान सुरु गरेको जानकारी दिएका छन्। वडा अध्यक्ष रुपबहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम भएको हो। वडा अध्यक्ष कुँवरले ग्रासरुट फुटबलले धनगढीबाट राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे।