कञ्चनपुरः कञ्चनपुरमा हत्या अभियोगमा फरार रहेका नेपाली कांग्रेसका एक नेतालाई पक्राउ गरिएको छ। कर्तव्य ज्यान मुद्दामा फरार रहेका वेदकोट नगरपालिका–१ का ३४ वर्षीय उद्धव बोहरालाई काठमाडौंबाट पक्राउ गरिएको कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक९एसपी० चक्रराज जोशीले जानकारी दिए।
उनकाअनुुसार बोहरालाई काठमाडौँबाट पक्राउ गरेर कञ्चनपुर ल्याइएको छ।
नेपाली कांग्रेस कञ्चनपुरका जिल्ला कार्य समिति सदस्य समेत रहेका बोहरामाथि वेदकोटकै हर्कबहादुर खडायतको हत्या गरेको अभियोग छ। एसपी जोशीले बोहरासहितको समूहले २८ कात्तिक २०८० मा वेदकोट नगरपालिका–१ हात्तीथलामा देउसी–भैलो हेरेर फर्किरहेका बेला खडायतलाई घेरा हालेर कुटपिट गरेको बताए।
तत्कालीन समयमा पाँच जनाविरुद्ध कर्तव्य ज्यान उद्योग शिर्षकमा मुद्दा दर्ता भएकोमा चक्र बोहरा पक्राउ परेका थिए। तर खडायतको उपचारका क्रममा १० पुस २०८० मा मृत्यु भएपछि भने कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरिएको थियो। बोहरा पक्राउ परेपनि उक्त मुद्दामा अन्य चार जना अझै फरार छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।