अछाम: नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्व र विकासका लागि वर्तमान समीकरण भएको बताएका छन् । अछाम सदरमुकाम मङ्गलसेन दरबारको हस्तान्तरणका क्रममा राजनीतिक अस्थिरताले देशको विकासमा प्रभाव पारेकोले त्यसको अन्त्यका लागि आफूहरू एक भएको भनाइ उपप्रधान मन्त्री सिंहको छ ।
“देशका राजनीति स्थायित्व र स्थिरता नभईकन जनताले चाहे अनुसारको विकास निर्माणका कार्यहरू अगाडि बढाउन मुस्किल हुने भएकोले वर्तमान सरकार गठन भएको हो ।” मन्त्री सिंहले भने । राजनीतिक अस्थिरताले पटक पटक छोटो समयका लागि सरकार परिवर्तन हुने भएकोले जनताको चाहना अनुसारको वर्तमान सरकार भएको उनको भनाइ छ । संविधानप्रदत्त अधिकारहरू सबैलाई समान रूपमा उपभोग गर्न पाउने गरी आवश्यक सङ्घीय कानुनहरू समयमै बनाएर जनतालाई सेवा दिनेमा लागिरहेको मन्त्री सिंहको भनाइ रहेको छ ।
उपप्रधानमन्त्री सिंहले देशमा रहेका सम्पदा र संरचनाको विकास, विस्तार गरेर त्यसबाट आम्दानीको स्रोत बनाउन सकिने भनाइ राख्नुभयो । दरबारको निर्माणमा बाँकी रहेका काम र मङ्गलसेन बजार क्षेत्रको विकासमा मन्त्रालयबाट सहयोग रहने बताए । दरबार हस्तान्तरण कार्यक्रममा अछाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह, कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाही, प्रदेशसभा सदस्य मानबहादुर रावल, मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले मन्तव्य राखेका थिए । उपप्रधानमन्त्री सिंहलाई मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले नगरका केही महत्त्वपूर्ण योजनासहितको ज्ञापन पत्र बुझाएका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा भएको हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, विभिन्न कार्यालयका प्रमुखलगायतको सहभागिता थियो । उपप्रधानमन्त्री आजै जिल्लाको पञ्च देवल विनायक नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्ने कार्यक्रम छ ।