बाजुरा: बाजुराको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका मिलन बोहोरा थला परेको झन्डै १८ वर्ष भयो । उनि जन्मजात अपाङ्गता भएका व्यक्ति हुन। पछिल्लो समय उहाँको अवस्था निर्जीव सरह भएको छ । अहिले उनि न बोल्न सक्छन्, न त कतै हिँड्डुल गर्न सक्छन् । न आफैँ खान तथा दिसापिसाब गर्न नै सक्छन् । उनको मानसिक तथा शारीरिक अवस्था निकै कमजोर भएकाले अहिले स्याहारसुसार आवश्यक छ ।
सरकारले पूर्ण अशक्त अपाङ्गताका लागि रातो (क), अति अशक्त अपाङ्गताका लागि निलो (ख), मध्यम अपाङ्गताका लागि पहेँलो (ग) र सामान्य अपाङ्गताका लागि सेतो (घ) परिचयपत्र दिने गरेको छ । रातो कार्ड भएकाले महिनाको चार हजार र नीलो कार्ड भएकाले एक हजार पाँच सयदेखि दुई हजार रुपियाँ पाउने गरेका छन् । त्यो रकमले अपाङ्गता भएकाको गाँस, बास र कपासका लागि पुग्दैन । उनीहरूलाई खानासँगै स्याहारसुसारको निकै आवश्यकता छ । सरकारले अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिए पनि दुर्गम बस्तीका अपाङ्गता भएकाहरू भने मृत्युको पर्खाइमा बस्दै आएका छन् ।
यहाँका अधिकांश गाउँबस्ती पाखो र भिरालो ठाउँमा छन् । यहाँ अपाङ्गता भएकालाई खान, बस्न र दैनिक आउजाउमा समेत निकै समस्या छ । बुढीनन्दा नगरपालिका–१० का १८ वर्षीय मिलन बोहोरा यसैको उदाहरण हुनुहुन्छ । उहाँ २०६३ सालमा जन्मनुभएको हो । ऋण जोहो गरेर उपचार गरिए पनि अहिलेसम्म उनको अवस्थामा कुनै परिवर्तन नआएको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका कुम्भ बोहोराले बताए । उनले भने, “मेरो छोरो जन्मँदै अपाङ्गता भएको हो । सानैदेखि अहिलेसम्म हामीले बसाए बस्छ, सुताए सुत्छ । घरमा कोही नभएका बेला शरीरमै दिसापिसाब गरिराख्छ ।” अहिले १२ सबलाङ्ग पाल्नुभन्दा यो एकल अपाङ्गतालाई पाल्नु निकै सकस भएको बोहोराले बताए ।
स्थानीय तहमार्फत अपाङ्गता पहिचान भएका बालबालिकाका लागि आवधिक रूपमा अपाङ्गताको अवस्था मूल्याङ्कन, सेवासुविधा पुनरवलोकन, आवश्यक थेरापीलगायत अन्य सेवाको समेत व्यवस्था गर्ने ऐनले जनाएको छ । यहाँका दुरदराजका गाउँबस्तीका भने अपाङ्गता भएकाको अवस्था निकै दयनीय छ । यहाँको बुढीनन्दा नगरपालिका, बडीमालिका नगरपालिका, गौमूल, बुढीगङ्गा नगरपालिका, त्रिवेणी नगरपालिका, हिमाली, जगनाथ, स्वामीकार्तिक र खप्तडछेडेदह गाउँपालिकामा एक हजार ३८६ जना अपाङ्गता भएका छन् ।