धनगढी । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ शिक्षा ऐन चाँडै आउने बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मन्त्री भण्डारीले नयाँ व्यवस्था अनुसारको शिक्षा ऐन ल्याउनेतर्फ सरकार लागिरहेको बताए ।
शिक्षा ऐनमा सबै शिक्षकका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन ल्याउन लागेको जानकारी दिए ।
शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने बताउदै उनले भने, ‘‘नयाँ व्यवस्था अनुसार नयाँ शिक्षा ऐन आवश्यक छ । यसका लागि सरकार लागिपरेको छ । शिक्षा क्षेत्रलाई सुधार गर्ने गरी नयाँ शिक्षा ऐन आउँदैछ ।’’
अहिले नेकपा एमाले र नेपाली कांग्रेस मिलेर राष्ट्रिय आवश्यकताका आधारमा सरकार निर्माण गरिएको मन्त्री भण्डारीले बताए । सरकारले अध्यादेशमार्फत ल्याएका कानुनहरु अहिलेको आवश्यकता भएकाले संसदबाट पारित गर्नुपर्नेमा जोड दिएको उनले बताए ।
यस्तै, देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्नेमा मन्त्री भण्डारीको जोड थियो । अर्थतन्त्रमा सुधार आएमात्रै देशका समस्या समाधान हुने भएकाले सबै क्षेत्र मिलेर जानुपर्ने उनले बताए ।