धनगढी । कञ्चनपुरको शुक्लाफाटा नगरपालिका– १० का अति विपन्न परिवारका लागि घर निर्माण गर्न लागिएको छ । ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको साझेदारीमा नगरपालिकाले अति विपन्न परिवारका लागि घर निर्माण कार्य अघि बढाएको हो ।
शुक्रबार देखी पालिकाको वडा नं। १० स्थित सिमलखेतमा अति विपन्न ११ परिवारका लागि घर निर्माणको कार्य अगाडी बढाईएको नगरप्रवक्ता लालबहादुर ऐरले जानकारी दिए । उनका अनुसार नगरपालिकाको २५ लाख, ह्याबिट्याट फर ह्युम्यानिटी नेपाल र निड्स नेपालको संयुक्त २५ लाखमा वडाका ११ वटा घरहरु निर्माण गरिनेछन । जसमा बाँकी रहेको रकम श्रमदानमार्फत गरी जम्मा ७० लाखको लागतमा ११ वटै घरहरु निर्माण गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाकी उपप्रमुख कल्पना पन्तले पालिकाका अन्य वडामा रहेका विपन्नहरुका लागि पनि घर निर्माण गर्ने योजना रहेको बताईन । उनले सो कार्यका लागि विभिन्न संघसंस्थाहरुसँग सहकार्य गर्ने कार्य भैरहेको बताईन । उनले विपन्न परिवारले घर पाए उनिहरुको झुपडीमा बस्नुपर्ने बाध्यता अन्त्य हुने समेत बताईन । निर्माण हुन लागेका ११ वटा घरहरुको शुक्रबार उपप्रमुख पन्तले शिलान्यास गरेकी थिईन ।