धनगढी: नेकपा(माओवादी केन्द्र) सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको प्रयास असफल भएको छ । संसदीय दलको नेता खगराज भट्टलाई बनाउने केन्द्रको निर्देशन र परिपत्र कार्यान्वयन नभएपछि प्रचण्डले संसदीय दललाई बुधबार निजी निवास खुमलटार बोलाएका थिए ।
फागुन १२ गतेदेखि झापाबाट सुरु गरेको हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानको बिचमा विवाद मिलाउन प्रचण्ड काठमाडौँ आएका थिए । तर दुवै पक्षबिच चर्काचर्की भएपछि बैठक छलफल बिना निष्कर्ष टुंगिएको सहभागी एक सांसदले जानकारी दिए । ती सांसदका अनुसार भट्ट पक्षधरले पटकपटक केन्द्रको निर्देशन संसदीय दलका नेता मानबहादुर धामीले उल्लघंन गरेकाले विवाद केन्द्रले नै मिलाउनुपर्ने अडान राखेका थिए । धामी पक्षका सांसदहरू प्रक्रियाबाट संसदीय दलको नेता चुनिएकाले प्रक्रियाबाट नै हटाउन चुनौती दिएका थिए ।
‘अध्यक्ष प्रचण्ड र इन्चार्ज गिरिराजमणिजीको रोहबरमा संसदीय दलको नेता सहमतिमै परिवर्तन गर्ने विषयमा दुवै पक्षबिच चर्को विवाद भयो । दलका नेता मानबहादुर धामीले आफू प्रक्रियाबाट नै दलको नेता चुनिएकाले प्रक्रियाबाट हटाउन चुनौती दिनुभयो । केन्द्रको निर्णय आफूलाई मान्य नभएको अडान लिनुभयो । तर खगराजी पक्षधरले केन्द्रको निर्देशन संसदीय दलले मान्नुपर्ने र यही सहमति गर्नुपर्ने अडान लिएका थिए । दुवै पक्षले आ–आफ्ना अडान नछाडेपछि अध्यक्षले विवाद प्रदेशमै गएर मिलाउन भन्नुभयो’, ती नेताले भने ।
धामीको पक्षमा सांसदहरू अक्कलबहादुर रावल, ओमविक्रम भाट, लक्ष्मी विक र झपटबहादुर साउद उभिएका थिए । भट्टको पक्षमा गीतादेवी माल, रमेशसिंह धामी, शिवसिंह ओली र जानकीदेवी कुँवर उभिएका थिए । संसदीय दलमा माओवादीको ११ जनामध्ये भीमबहादुर भण्डारी सभामुख रहेका छन् । २०८० माघ १२ गते बसेको माओवादी संसदीय दलको बैठकले खगराज भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको थियो । त्यसयता विवाद चर्किँदै गएको छ ।
विवाद मिलाउनका लागि फागुनको पहिलो हप्ता पार्टीले भट्टको विषयमा अलग्गै परिपत्र पठाएको थियो । यसअघि अध्यक्ष प्रचण्डले पटकपटक दिएको निर्देशन र दुई पटक पठाएको परिपत्र समेत कार्यान्वयन हुन सकेको छैन । केही दिनअघि इन्चार्ज गिरिराजमणि पोखरेलले विवाद मिलाउन धामीलाई प्रचण्ड निवास खुमलटार बोलाएका थिए । उनले संसदीय दलको बैठक नमानेपछि प्रचण्डले संसदीय दललाई नै काठमाडौँ बोलाएका हुन् । सुदूरपश्चिमको डडेलधुरास्थित जोगबुढामा भएको कार्यक्रममा सहभागी हुन गएका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विवाद मिलाउन गरेको प्रयास समेत असफल भएको थियो ।